Connect with us
Kapilvast Forest

म्याग्दी : बाँदर धपाउन किसानको आलोपालो ड्युटी

२०७८, २८ मंसिर मंगलवारमा प्रकाशित

म्याग्दी – बाँदरले सुन्तला नष्ट गर्न थालेपछि म्याग्दीका कृषक चिन्तित भएका छन् ।

बाँदर सुन्तला खान पल्किएपछि कृषकलाई चिन्तित बनाएको हो । हुल बाँधेर आउने बाँदरले सुन्तला खाने र नष्ट गरेर सताउन थालेको बेनी नगरपालिका–४ बास्कुनाका कृषक भीमबहादुर थापाले बताउनुभयो ।

‘सुन्तला खान पल्किएपछि बाँदरले सताउन थालेको छ’, उहाँले भन्नुभयो, ‘रुखमा चढ्यो भने एउटा खाने, १० वटा झारेर सखाप बनाउँछ ।’ करिब ५० घरधुरीको बसोबास रहेको बास्कुनामा पूरै गाउँमा सुन्तला खेती गरेका छन् ।

बाँदरबाट सुन्तला जोगाउन कृषकले पालो लगाएर बगैँचा कुर्ने गरेका छन् । वडा, नगरपालिका र कृषि ज्ञान केन्द्रको कार्यालयमा बाँदर नियन्त्रणका लागि अनुरोध गरिएको कृषक थापाले बताउनुभयो । उहाँका अनुसार बाँदरको समस्याले नपाक्दै सुन्तला टिपेर बजार पठाउन थालिएको छ ।

धान, गहुँ, मकै, कोदोलगायत अन्नबाली क्षति गरेर दुःख दिने गरेको बाँदर पछिल्लो समय सुन्तलामा पल्किएको बेनी नगरपालिका–३ मरेकका पदमबहादुर खत्रीले बताउनुभयो । बाँदरले दाना झार्ने र खाने मात्र नगरि हाँगा भाचेर थप क्षति गरेको कृषकको भनाइ छ ।

धवलागिरि गाउँपालिका–७ कौछिनीका कृषक भेषनाथ गौतमले बाँदर धपाउने उपकरण पड्काएपछि गएकाे वर्षदेखि नआएको बताउनुभयो । दुई वर्षअघिसम्म त्यहाँ बाँदरले सुन्तला र अन्नबाली नष्ट गरेर दुःख दिएको थियो । धवलागिरि गाउँपालिकाले राष्ट्रिय आविष्कार केन्द्रले तयार पारेको बाँदर धपाउने उपकरण ल्याएर कृषकलाई उपलब्ध गराएको थियो ।

म्याग्दीको राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा २०० भन्दा बढी सुन्तला बगैँचा छन् । सात सय छ हेक्टरमा सुन्तला जात फलफूलको खेती भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

तीन सय ३५ हेक्टरमा लगाएको बोटले उत्पादन दिन्छ । गएकाे वर्ष दुई हजार ४१२ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । म्याग्दीका सुन्तला पोखरा, चितवन, बुटवल र काठमाण्डौमा निकासी हुन थालेको छ ।

पोखराबाट आएका व्यापारीले बगैँचाबाट सुन्तला खरिद गरेर लैजान थालेका बेनी नगरपालिका–८ राखुका थमबहादुर पुनले बताउनुभयो । ‘बगैँचाबाटै प्रतिकिलो ६५ रुपैयाँका दरले सुन्तला बिक्री भएको छ’, उहाँले भन्नुभयो, ‘सुन्तला टिपेर बजार पठाउने चटारो छ ।’

८० घरधुरी रहेको राखु गाउँभरि व्यावसायिक सुन्तला खेती भएको छ । यस गाउँबाट वार्षिक एक करोड रुपैयाँको हाराहारीमा सुन्तला निकासी हुने गरेको छ । बास्कुनाका कृषक तिलक गुरुङले सडक र यातायात सुविधासँगै सुन्तलाले बजार र भाउ पाएको बताउनुभयो ।

नगद आम्दानी हुने भएपछि कृषकले अन्नबालीको विकल्पमा खेतबारीमा सुन्तला खेती गर्ने क्रम बढेको छ । बाँदरका साथै दानाभित्र औँसा परेर पाक्ने बेलामा सुन्तला झर्ने चाइनिज सिट्रोस फ्रुट फ्लाइ र सिट्रोस ग्रिन किराले कृषकलाई सताएको छ ।

औँसा परेर झरेका सुन्तलाको दाना सुरक्षित व्यवस्थापन गर्ने र खाद्य पासो थाप्ने ज्ञान, सीप र प्रविधि सिकाउन स्थलगत तालिम सुरु गरेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu