देशभर नै बढ्यो चिसो, जुम्लाको न्यूनतम तापक्रम माइनस ५.८ डिग्री
काठमाडौं -काठमाडौं उपत्यकामा मात्र होइन तराईका जिल्लामा पनि तापक्रम घटिरहेको छ । तराईमा खासगरी शीतलहर चल्न थालेपछि तापक्रम घट्न थालेको हो । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातका कारण चिसो बढेको मौसमविद्ले बताएका छन् ।
शुक्रबार जुम्लाको तापक्रम माइनस ५.८ डिग्रीमा झरेको छ, अधिकतम तापक्रम पनि अघिल्लो दिनको तुलनामा २.८ डिग्रीले घटेको छ । बिहीबार जुम्लाको न्यूनतम र अधिकतम तापक्रम क्रमशः माइनस ५.७ र १५.२ डिग्री मापन भएको थियो । पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार पश्चिम नेपालका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुँदा त्यहाँ तापक्रम घटेको मौसमविद् श्रेष्ठले बताए । जिरीको तापक्रम पनि माइनस २.१ डिग्रीमा झरेको छ । त्यहाँ अधिकतम तापक्रम १७.५ डिग्री मात्र छ ।
डडेल्धुराको तापक्रम पनि लगातार घटिरहेको छ । त्यहाँ अधिकतम १३.६ र न्यूनतम तापक्रम ३ डिग्री मापन भएको छ । धनगढीको न्यूनतम तापक्रम ८ डिग्रीमा झर्दा नेपालगन्ज, भैरहवा, धनकुटा, विराटनगर र जनकपुरको न्यूनतम तापक्रम क्रमशः ८.३, ९.७, ८, ९ र ९.६ डिग्रीमा झरेको छ ।
तराईमा हुस्सुका कारण जनजीवपन प्रभावित बनेको छ भने बिहानका हवाइ उडान पनि प्रभावित हुने गरेका छन् । शुक्रबार बिहान नेपालगन्ज, भैरहवा, जनकपुर र विराटनगरमा हुस्सु लागेको थियो । जसकारण भैरहवा विमानस्थल क्षेत्रमा ५ सय र विराटनरमा २ हजार मिटर भिजिबिलिटी रेकर्ड भएको थियो । बिहीबार भैरहवाको भिजिबिलिटी १ हजार मिटर थियो ।
मौसमविद् श्रेष्ठका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको असर रहेको छ । जसले सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । शनिबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने महाशाखाले आँकलन गरेको छ ।