Connect with us
Kapilvast Forest

एमसीसीकाे बहानामा गठबन्धनलाई ताेड्ने खतरा छ : डा. भट्टराई

२०७८, ५ पुष सोमबारमा प्रकाशित

काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको बहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताउनुभएको छ ।

आज सोमवार नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालले अघिल्लो वर्ष प्रतिनिधि सभा विघटन भएको पुस ५ गतेको दिनलाई ‘कालो दिन’ को रूपमा स्मरण गर्दै आयोजना गरेको कार्यक्रममा बोल्दै डा. भट्टराईले एमसीसीको बाहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताउनुभएको हो ।

देशी, विदेशी शक्ति लागेर गठबन्धन भत्काउन सक्ने भन्दै यसतर्फ सबै सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । एमसीसीको सम्बन्धमा सत्तारुढ गठबन्धनका बीचमा सहमति जुटाएर मात्रै अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । सत्ता गठबन्धन भत्काएर नयाँ ढङ्गको प्रतिगमन आउने खतरा रहेको उहाँले दाबी गर्नुभयाे ।

अध्यक्ष भट्टराईले भन्नुभयो, ‘हामीले ध्यान पुर्‍याउन सकेनाैँ भने, खासगरी एमसीसीको मुद्दामा गठबन्धनका घटकहरूका बीचमा एउटा सहमति जुटाएर हामी अगाडि बढ्न सकेनौँ भने यही बहानामा भित्री र बाहिरी शक्तिहरूले खेलेर गठबन्धन तोडिदिने अनि त्यसपछि फेरि अर्को ढङ्गले प्रतिगमन अगाडि आउने खतरा छ । यतापट्टि हामी सबैको ध्यान आकृष्ट होस् ।’

अध्यक्ष भट्टराईले प्रतिगमनकारी शक्तिलाई निस्तेज पार्नका लागि आउँदाे चुनावसम्मै गठबन्धनलाई कायम राख्नुपर्ने बताउनुभयो । प्रतिगमनकारीलाई टाउको उठाउनै दिनु नहुने उहाँको तर्क छ । गठबन्धनका दलहरूबीच आपसी प्रतिस्पर्धा पनि गर्दै प्रतिगमनका विरुद्ध एकढिक्का हुनुपर्नेमा उहाँको जोड छ ।

अध्यक्ष भट्टराईले प्राप्त राजनीतिक उपलब्धिहरूको रक्षा गर्दै लोकतन्त्रलाई अझ समृद्ध गर्दै लैजानुपर्ने धारणा व्यक्त गर्नुभयो । उपलब्धिहरू अपूर्ण रहेको उल्लेख गर्दै उहाँले पूर्णता दिँदै जानुपर्ने पनि बताउनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu