हनुमानढोका क्षेत्रभित्रको मल्लकालीन शिलालेख तोडफोड
काठमाडौं – अज्ञात समूहले हनुमानढोका क्षेत्रभित्र राखिएको मल्लकालीन शिलालेख तोडफोड गरेको छ । बिहीबार कृष्ण मन्दिर बाहिर राखिएको प्रताप मल्लकालीन शिलालेख तोडफोड भएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिनु भयो ।
उनका अनुसार सो अभिलेख राजा प्रताप मल्लको समय अर्थात् वि।सं। १७०५ मा राखिएको हो । अभिलेख तोडफोड भएको जानकारी पछि त्यसका सबै टुक्राहरु संकलन गरेर हेरचाह अड्डामा सुरक्षित राखिएको खनालले जानकारी दिनु भयो ।
अभिलेख तोडफोडको बारेमा महानगरीय प्रहरी वृत्त हनुमानढोका र पुरातत्व विभागलाई जानकारी गराइसकिएको हेरचाह अड्डाले जनाएको छ । हेरचाह अड्डाले सो अभिलेखको टुक्रालाई जोडेर पहिलेकै अवस्थामा ल्याउनको लागि विज्ञहरुसँग छलफल गरिरहेको जनाएको छ ।