Connect with us
Kapilvast Forest

नारायणहिटी विवाद अब अख्तियारमा

२०७८, १३ माघ बिहीबारमा प्रकाशित

 

काठमाडौं-सरकारले नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रेस्टुरेन्ट निर्माणसम्बन्धी विवादको थप छानबिन तथा आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी प्रधान कार्यालयलाई पत्रचार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले व्यापार व्यवसाय प्रयोजनका लागि सङ्ग्रहालयको जग्गा तथा बगैँचा अतिक्रमण गरी संरचना बनाउने र त्यस कार्यमा सहयोग पुर्‍याउने सम्बद्ध अधिकारीलाई कानुनी कारबाहीका लागि आयोग र प्रहरीलाई पत्राचार गरेको हो ।

 

मन्त्रालयको संस्कृति महाशाखा प्रमुख सहसचिव होमप्रसाद लुइँटेलले नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रेस्टुरेन्ट निर्माणसम्बन्धी विवादको थप छानबिनका लागि अख्तियार र प्रहरीलाई आग्रह गरिएको स्पष्ट पारे । उनी छानबिन समितिको संयोजकसमेत थिए । उनी नेतृत्वको छानबिन समितिले ६.३४ आना जग्गामा (क्याफ्टेरिया) क्यान्टिन/कफी सप सञ्चालन गर्ने नाममा दरबारको बगैँचासहित १४ रोपनी जग्गा अतिक्रमण गरी बतास समूहले संरचना निर्माण गरेको यथार्थ विवरण बाहिर ल्याइदिएको हो ।

सो कार्यमा नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा विकास समन्वय समितिका तत्कालीन कार्यकारी निर्देशक भेषनारायण दाहालको प्रत्यक्ष संलग्नता देखाई दोषीमाथि कानुनी कारबाहीको सिफारिस गरिएको थियो । दाहालले राजीनामा दिएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले नारायणहिटी परिसरमा रेस्टुरेन्ट सञ्चालनसम्बन्धी विवादको थप छानबिनका लागि पत्र प्राप्त भए पनि यससम्बन्धी भएगरेको प्रगतिका विषयमा केही दिनपछि मात्र बोल्नसक्ने अवस्था रहेको बताए । त्यस्तै केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विष्णुकुमार केसीले नारायणहिटी विवादसम्बन्धी छानबिनको पत्र प्राप्त भइनसकेकाले तत्काल बोल्न सक्ने अवस्था नभएको बताए । “अख्तियारलाई पत्र गएपछि प्रहरीलाई बोधार्थ आउँछ”, उनले भने, “फौजदारी कसुर आकर्षित भएमा कारबाही हुन्छ ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu