आजदेखि नेपाली रेल सञ्चालनमा आउने
जनकपुरधाम- धनुषाको इनर्वा स्टेशनमा थन्काएर राखिएको नेपाली रेल आजदेखि सञ्चालन हुँदैछ ।भारतको जयनगर हुँदै जनकपुरधाम-कुर्थासम्म गुड्ने रेल आज पुनः जयनगर नै फर्किनेछ । रेल गुड्ने भए पनि यात्रुलाई बोक्ने योजना नरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
आज बिहान १० बजे इनर्वा स्टेशनबाट खुल्ने रेल १ घण्टामा जनकपुरधाम आइपुग्ने र कुर्था पुगेर पुनः जयनगर फर्किने रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिनु भयो । झन्डै १० दिनसम्म रेल कुदाइने उहाँले बताउनु भयो ।
१८ महिनाभन्दा बढी समयदेखि एउटै ठाउँमा थन्केकाले प्राविधिक स्थिति बुझ्नका लागि रेल गुडाउन लागिएको उहाँले बताउनु भयो । ‘रेलको प्राविधिक स्थिति बुझ्न दैनिक रेल गुडाउन लागेका छौं’ झाले भने, ‘कुनै प्राविधिक समस्या देखिए सुधार गर्छौं ।’
यात्रुलाई बोक्नुअघि रेल दुरुस्त अवस्थामा राख्नकै लागि परीक्षण स्वरुप रेल गुडाउन लागिएको उहाँले बताउनु भयो । यसबाहेक अतिक्रमण गरिएका रेल मार्गहरू छाड्न, अनाधिकृत बाटो बन्द गर्न, हाट लगाउन बन्द गर्नका लागि चेतना जगाउन, कर्मचारीलाई अभ्यस्त बनाउने उद्देश्यले पनि रेल गुडाउन लागिएको उनले बताउनु भयो ।
२ असोज २०७७ मा भारतबाट खरिद गरेर ल्याएको नेपाली रेल धनुषाको इनर्वा स्टेशनमा थन्काएर राखिएको छ ।थन्किएको रेल फागुनको दोस्रो साता विधिवत रुपमा उद्घाटन गर्ने तयारी भएको छ । यस सम्बन्धमा छलफल चलिरहेको र नेपाल तथा भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा भर्चुअल माध्यमले रेलको उद्घाटन गर्ने महाप्रबन्धक झाले बताउनु भयो ।
रेल संचालनका लागि विभागले ५९ जना कर्मचारीलाई दैनिक ज्यालादारीमा नियुक्त गरेको छ भने भारतबाट २६ जना कर्मचारीलाई बोलाइएको छ । यसमध्ये १२ जना आइपुगेको र संचालन भएपछि १२ जना आउने विभागले जनाएको छ ।
रेल संचालनका लागि तीन जना स्टेशन मास्टर, १० जदा टिकट सेलर, २ जना टिटीलाई नियुक्त गरिएको छ । यसमध्ये टिकट सेलर अधिकांश महिला रहेको महाप्रबन्धक झाले बताउनु भयो ।