वन अधिकृतसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं-अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वन अधिकृतसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।बुधबार काठमाडौंस्थित विशेष अदालतमा जिल्ला वन कार्यालय, रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जनाविरूद्ध मुद्दा दायर गरेको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
मिश्रले रक्तचन्दनको ठेक्का मिलाइदिन्छु् भन्दै घुस लिएर भागेको भन्ने उजुरी परेको थियो। उनले सेवाग्राहीबाट ७० लाख रुपैयाँ लिएको पुष्टि भएको प्रवक्ता भण्डारीले बताए।
त्यस्तै, विष्णुकान्तका छोरा नवीनकुमारले पनि बुवाले लिएको घुसको ४० लाख रुपैयाँ बैंक खातामा जम्मा गरी सहयोग गरेको आरोप अख्तियारले लगाएको छ।
मिलेमतो गरी विष्णुकान्तलाई घुस उपलब्ध गराउन ग्याल्जेन एन्ड तामाङ प्रालि र रसुवा ट्रेडिङ कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेनले सहयोग गरेको आरोप छ।
ग्याल्जेनले २५ लाख दिएको पुष्टि भएको भन्दै अख्तियारले उनीविरूद्ध पनि मुद्दा दायर गरेको हो।लाक्पाको मृत्यु भइसकेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
उनको मृत्यु भए पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४६ बमोजिम मुद्दाको कारबाही र किनारा गर्न बाधा नपर्ने देखिएको अख्तियारले जनाएको छ।
मरेको व्यक्तिको हकमा पनि बिगो क्षतिपूर्ति रकम भराउन सकिने कानुनी व्यवस्था रहेको अख्तियार प्रवक्ता भण्डारीले बताए।उनीहरूविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम मुद्दा दायर गरेको हो।