गाईभैंसीलाई स्याउको कुँडो !
बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन्। उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो। बारीमा लटरम्म स्याउ फल्छ। बजार नपाउँदा स्याउ खेर गइरहेको छ।
उनले एक रुपैयाँमा तीन दाना दिने गरेका छन्। गाउँपालिकाले भने किलोको १५ रुपैयाँ निर्धारण गरेको छ। उनले भने, ‘बारीमा आएर किलोमा कोही किन्दैनन्। दानाकै हिसाबले बेच्छु।’
लाखौं मूल्यको स्याउ खेर जाने उनले बताए। उनले भने, ‘किन्न कोही आउँदैन। बजार निकै टाढा छ। भरियालाई बोकाएर पुर्याउन सकिँदैन। स्याउ गाईभैंसीलाई कुँडो बनाएर खुवाउनुपरेको छ।’गाउँपलिकाबाट भारी बोकेर कोल्टी बजारसम्म पुग्न दुई दिन लाग्छ। कोल्ड स्टोर निर्माण र स्याउका अन्य परिकारबारे तालिम पाए केही सहज हुने अर्का किसान अनिल शाही बताउँछन्।
गाउँका दुई सयभन्दा बढी किसानले स्याउ खेती गरेका छन्। प्रत्येक परिवारको बारीमा तीन सयभन्दा बढी स्याउका बोट छन्। स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोट, सोही गाउँपालिका १ र २ साप्पाटा हिमाली गाउँपालिका धिम, पाडी, जगन्नाथ गाउँपालिका साबिकको जगन्नाथ गाविस क्षेत्र र बुढीनन्दा नगरपालिकाकाको साबिकको पाण्डुसेन गाविसमा प्रशस्तै स्याउ फल्छ। अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।