भिडियो कन्फरेन्सबाटै भारतीय समकक्षीलाई प्रधानमन्त्री ओलीले दिए नेपाल भ्रमणको निम्तो मोदीले भने – गोरखा र नुवाकोट जिल्लामा ५० हजार घर उद्घाटन गर्न आउन चाहन्छु
काठमाडौँ । नेपाल र भारतबीच मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको आज दुई देशका प्रधानमन्त्रीले आ–आफ्नो देशबाट स्वीच थिच्दै उद्घाटन गरेका छन् ।
भिडियो कन्फरेन्समार्फत प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्रीले एकैपटक स्वीच थिच्दै पाइपलाइनको उद्घाटन गरेका हुन् ।
सोही अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले नेपालले भारतसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको उल्लेख गरे । ‘दुई देशबीचको सम्बन्ध यति गहन छ कि सहकार्यको कुनै क्षेत्र पनि छाडिएको छैन,’ प्रधानमन्त्रीले भने ।
उनले सोही अवसरमा प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिए । ‘विकासको दृष्टिकोणमा भारत र मेरो विचार मिल्छ । मोदीसँग हातमा हात मिलाएर अघि बढाउन तयार छु । यही भिडियो सम्बोधन मार्फत नै मोदीलाई नेपालको भ्रमणको निम्तो दिन चाहन्छु ।’
प्रधानमन्त्री ओलीले निर्धारित समयको आधा समयमा परियोजना पुरा भएकोमा प्रशंसा गर्दै नेपाल र भारतबीच मात्र नभएर दक्षिण एशियामै यस्तो खालको पहिलो परियोजना भएको जिकिर गरे ।
उनले समय, यातायात र वायु प्रदुषण कम गर्नेमा आशा व्यक्ति गरे ।