मंसीर ५ देखि लुम्बिनी महोत्सव हुने
भैरहवा । नेपालको १२ वटा धार्मिक तथा पर्यंटक स्थलको झझल्को दिने गरी भैरहवा महोत्सव हुने भएको छ।
‘राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औधोगिकीकरण तथा व्यापार विविधिकरण’ भन्ने नाराका साथ महोत्सव हुन लागेको हो ।
आगामी मंसिर ५ गतेदेखि १६ गतेसम्म उद्योग व्यापार संगठन रुपन्देहीले महोत्सवको आयोजना गर्न लागेको हो।
पाँचौं लुम्बिनी पर्यटन प्रवद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा प्रदेश ५ भित्र रहेका पर्यटकीय र धार्मिक स्थलहरुको प्रतिरुपसहितको संरचना बनाइने आयोजक सस्थाले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।
राराताल, पशुपतिनाथ, सौराहा, फेवाताल, रानीमहल, रेसुङा, सुपा देउराली, स्वर्गद्वारी, रामग्राम, तिलौराकोट, देवदह पाकडी र लुम्बिनी मायादेवी मन्दिर लगायतको झझल्को दिने पभेलियन बनाई सोसँग सम्बन्धित ऐतिहासिक र जानकारीमूलक सन्दर्भ सामाग्री पनि राखिने छ ।
मेलामा उद्योग, व्यापार, कृषि र पर्यटनसंग सम्बन्धित कुल ४ सय स्टल राखिने छ । महोत्सवको लागि प्रवेश शुल्क ७०, जसमा विद्यार्थीहरुका लागि ४० र समूहमा आउने विद्यार्थीहरुको लागि ३० रुपैंया टिकट दर तोकिएको छ भने त्यस्तै ७० वर्ष उमेर माथि र अपाङ अशक्त व्यक्तिहरुलाई महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिने छ।
मेलामा पहिलो पटक सार्वजनिक विदाका दिन र शनिबार बाहेकका दिन बिहान ९ बजे देखि ११ बजे सम्म २ घण्टा निःशुल्क प्रवेशको व्यवस्था गर्ने संगठनले जनाएको छ।