किसान र उद्योगीबीच सहमति उखु किसानकाे आन्दोलन स्थगित
पुस ११, नवलपरासी – उखु बेचेको रकम पाउनुपर्ने भन्दै आन्दोलन थालेका पश्चिम नवलपरासीका किसानले आन्दोलन स्थगित गरेका छन् । भएसँगै आन्दोलन स्थगित गरेको उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिनुभयो ।
पश्चिम नवलपरासीमा तीनवटा उखु उद्योगले दिन बाँकी भएको झण्डै ४० करोड रुपैयाँमध्ये हरेक महिना ५ करोडका दरले किसानलाई भुक्तानी दिने सहमति गरेकाले आन्दोलन स्थगित गरेको उहाँले बताउनुभयो । पश्चिम नवलपरासीमा रहेका लुम्बिनी चिनी उद्योग, बाग्मती चिनी उद्योग र इन्दिरा सुगर मिलले अब २५ गतेदेखि मिल सञ्चालन गर्ने भएका छन् ।
अहिले सहमति गरेर भुक्तानी नदिए थप आन्दोलनका कार्यक्रम गर्ने अध्यक्ष यादवले बताउनुभयो । पश्चिम नवलपरासीमा वर्षको १८ देखि २० लाख क्विन्टल उखु उत्पादन हुन्छ भने झण्डै १० हजार परिवार उखु खेतीमा संलग्न छन् ।तर चिनी मिलले उखु किनेको रकम समयमै नदिँदा किसान बर्सेनि आन्दोलन गर्न बाध्य हुनुपरेको किसानको गुनासो छ ।