Connect with us
Kapilvast Forest

नक्कली पुर्जा बनाई जग्गा कुम्ल्याउने दाउ

२०७७, २ चैत्र सोमबारमा प्रकाशित

 

काठमाडौँ-बेल्जियममा रहनुहुने म्याग्दी बरञ्जा–२ की मीना खड्काले चन्द्रागिरि थानकोट–५ स्थित आफ्नो नाममा रहेको एक रोपनी चार आना जग्गा बिक्री गर्ने सोच्नुभएको थिएन । भविष्यमा सोही जग्गामा घर बनाउने र बेल्जियमको बसाइ छोट्याएर स्वदेश फर्किने योजना उहाँको थियो । सोही योजनाअनुसार नेपाल आउँदा उहाँ एक पटक आफ्नो जग्गा हेर्न थानकोट पुग्नुहुन्थ्यो ।

यही क्रममा केही महिनाअघि जग्गा हेर्न पुग्दा सँगैका छिमेकीले ‘यो जग्गा त बिक्री भइसक्यो’ भन्दा उहाँ छाँगाबाट खसेजस्तै हुनुभयो । सुरुमा त विश्वास लागेन भन्दै उहाँले थप्नुभयो, “जग्गा दर्ता रेकर्डमा अर्काैको फोटो रहेको कुरा कलङ्की मालपोतमा पुगेपछि
थाहा भयो । ”

सक्कली जग्गाधनी मीना खड्काको फोटो उप्काएर अर्की महिला (नक्कली मीना खड्का) सिन्धुपाल्चोक ठूलोधादिङ–७ की ४२ वर्षीया लक्ष्मी विकको फोटो टाँसिएको फेला परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार मालपोतका कर्मचारीको मिलेमतोमा उक्त काम भएको हो ।

त्यति मात्र होइन, सो जग्गा पाँच जनालाई बिक्री गरिसकेको रहेछ । प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले कलङ्की मालपोत कार्यालयका अधिकृत दीपक दाहाल, नायब सुब्बा नारायण श्रेष्ठ र खरिदार दीपा पङ्गेनीलगायत तीन कर्मचारी, एक जना लेखापढी र जग्गा दलाल नौ जना गरी १३ जनाको संलग्नता देखिएको बताउनुभयो ।

वास्तविक जग्गाधनी मीना खड्काको सट्टा नक्कली मीना खड्का (लक्ष्मी घतानी) खडा गरी भक्तपुर मध्यपुर थिमिका कृष्णगोपाल श्रेष्ठ, रत्नकेशरी श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, विजया लक्ष्मी श्रेष्ठ र काभ्रे धुलिखेलका कुमार दाहाल खत्रीलाई बैना बिक्री गरेको अवस्थामा जग्गा फेला परेको हो ।
प्रहरी उपरीक्षक बस्नेतले वास्तविक जग्गाधनीले समयमै सूचना दिएकाले घटनामा संलग्न सबै अभियुक्तलाई पक्राउ गर्न सफल भएको बताउनुभयो । प्रहरीले मालपोत अधिकृत दाहाल, नायब सुब्बा श्रेष्ठ र पङ्गेनीका अतिरिक्त जग्गा दलाली व्यवसाय सञ्चालन गर्दै आएका मुख्य योजनाकार रामचन्द्र पुडासैनी, रामबहादुर खड्का, पद्म भन्ने काभ्रे पनौतीका पुण्यप्रसाद काफ्ले, विष्णु–केशव भन्ने धादिङ नीलकण्ठ–५ बालप्रसाद भट्ट, इन्द्रबहादुर खत्री बताउने सङ्खुवासभा नुनढाकीका इन्द्रबहादुर घलेलाई पक्राउ गरेको छ ।

त्यस्तै जग्गाधनी मीना खड्काको नक्कली भाइ बनेका बूढानीलकण्ठका ४७ वर्षीय विजयकुमार खड्का, रामेछाप गेलुका बालकृष्ण बुढाथोकी, नक्कली मीना खड्का बन्ने लक्ष्मी घतानी विक, ओखलढुङ्गा खिजीदेम्बाका विजयप्रकाश सुनुवार, कृष्ण भन्ने सिन्धुली कमलामाई–५ का कृष्णबहादुर दर्लामी र झापा कचनकवलका कृष्णबहादुर कटुवाल पक्राउ परेका छन् । लेखापढी व्यवसाय सञ्चालन गर्ने राजाराम थापा फरार छन् । प्रहरीका अनुसार घरजग्गा दलालीमा सक्रिय यो समूहका सदस्य रामचन्द्र पुडासैनी, रामबहादुर खड्का र पुण्यप्रसाद काफ्लेले यसअघि लीला श्रेष्ठ र सुवासचन्द्र रिजाललाई ठगी गरेको पाइएको छ ।

पेसेवर ठगका रूपमा परिचित यो समूहका सदस्यहरू यसअघि पनि ठगी मुद्दामा जेल सजायसँगै धरौटीमा छुटेका थिए । त्यस्तै इन्द्रबहादुर भन्ने इन्द्रबहादुर घले जग्गा किर्ते मुद्दामा पक्राउ परी २०६९ सालमा दुई वर्ष जेल सजाय कटाएर छुटेको, केशव भन्ने बालप्रसाद भट्ट ठगीमा पक्राउ परी छुटेको र विजयकुमार खड्का किर्ते मुद्दामा एक लाख धरौटी राखी छुटेका व्यक्ति हुन् । यो समाचार गोरखापत्रमा देवबहादुर कुँवरले लेख्नु भएको छ  –

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu