जनमोर्चा सांसद थापाद्वारा नयाँ सरकार गठनको पक्षमा हस्ताक्षर गर्न अस्वीकार
पोखरा- राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले नयाँ सरकार गठनका लागि कांग्रेस–माओवादी–जसपा गठबन्धनलाई साथ नदिने भएका छन् ।
वैशाख २६ गते पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि त्यसै दिन प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार गठनका लागि दलहरुलाई तीन दिनको समय दिनु भएको छ । ।
कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठनको प्रयासमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने तयारी गर्नु भएको थियो । कांग्रेसका १५, माओवादीका १२ र जसपाका २ जना सांसद रहनु भएको छ ।
बहुमतका लागि राष्ट्रिय जनमोर्चाको तीन प्रदेशसभा सदस्यको पनि हस्ताक्षर चाहिन्छ । राष्ट्रिय जनमोर्चाको केन्द्रीय समिति नयाँ सरकार गठनको पक्षमा छ भने सचेतक पियारी थापाले हस्ताक्षर गर्न ह्वीप पनि जारी गर्नु भएको छ ।
तर प्रदेशसभा संसदीय दलका नेता समेत रहेका थापाले हस्ताक्षर गर्न अस्वीकार गर्नु भएको छ । थापाले नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न अस्वीकार गरेको राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले पुष्टि गर्नु भयो । ६० सदस्यीय प्रदेश सभामा थापाले हस्ताक्षर नगर्दा विपक्षीलाई सरकार बनाउन सांसद संख्या पुग्दैन ।
यदि प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि दिएको समयसीमा भित्र दलहरुले बहुमतसहित दाबी गर्न सक्नु भएनभने अल्पमतको सरकार बन्नेछ । प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेको संसदीय दलको नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बन्नेछन् । यसरी मुख्यमन्त्री बन्दा ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।