Connect with us
Kapilvast Forest

लुम्बिनी दिवस अर्थात बुद्धजयन्तीको दिन २५६५ वटा दीप प्रज्वलन गरेर मनाईने

२०७८, ९ जेष्ठ आईतवारमा प्रकाशित

बुद्धजन्मस्थल लुम्बिनीको दृश्य । तस्वीरः नरेश के.सी

नरेश केसी, भैरहवा– लुम्बिनी दिवस अर्थात बुद्धजयन्ती यस बर्ष पनि बन्दाबन्दी (लकडाउन)को कारण प्रभावित हुने भएको छ । सधैं भव्य समारोहकाबीच सम्पन्न हुने गरेको बुद्धजयन्ती यस बर्ष २५६५ वटा दीप प्रज्वलन गरेर , परित्राण पाठ गरेर सामन्य रुपमा मनाईने भएको हो । गतबर्ष पनि बन्दाबन्दीको कारण बुद्धजयन्ती पुजापाठमा सीमित भएको थियो ।

आगमी जेष्ठ १२ गते परेको २५६५ औं बुद्धजयन्तीमा विगतका बर्षमा जस्तो हुनेछैन । विगतमा राष्ट्रप्रमुख , विदेशी कुटनीतिज्ञहरुको सहभागितामा अन्तराष्ट्रिय स्तरको औपचारिक कार्यक्रम हुने गरेकोमा कोरोना संक्रमणको कारण यस बर्ष औपचारिक कार्यक्रम नहुने भएको हो । बन्दाबन्दीको कारण गत बर्ष पनि पुजा पाठ र सामन्य कार्यक्रम गरेर मनाइएको बुद्धजयन्ती यस बर्ष पनि पुजा पाठ, दीप प्रज्वलन गरेर सामन्य रुपमा मनाउने तयारी गरेको लुम्बिनी विकाष कोषका सदस्यसचिव सानुराजा शाक्यले बताउनुभयो ।

सदस्यसचिव शाक्यले भन्नुभयो,‘२५६५ औं बुद्धजयन्ती जेष्ठ १२ गते परेको छ । विगतका बर्षमा अन्तराष्ट्रिय सम्मेलन गरेर मनाइएको थियो भने गएको सालदेखि कोरोनाको कारण राम्ररी मनाउन पाइएको छैन । यस बर्ष पनि हामीले राम्रोसंग मनाउने तयारी थियो , तर कोरोना भाइरसको दोस्रो लहर देखिएपछि निषेधाज्ञाकोबीच बुद्धजयन्ती सामन्य रुपमा मनाउनुपर्ने अवस्था सृजना भएको छ ।

बुद्धजयन्तीको दिन बिहान सबै गुम्बा, बिहारको प्रतिनिधित्व हुनेगरी मायादेवि परिसरमा उपस्थित हुने र उक्त कार्यक्रममा सम्माननीय राष्ट्रप्रमुख, प्रधानमन्त्रीको सन्देश बाचन गर्ने र पुजापाठ गर्ने, परित्राण पाठ गर्ने र सांझ कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको संझनामा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको शाक्यको भनाई छ ।

शाक्यले भन्नुभयो, ‘कोरोना संक्रमणबाट मृत्यु भएकाको निर्वाणाप्राप्ती होस् भनेर २५६५ वटा दीप प्रज्वलन गर्नेछौं र संक्रमीतहरुको शीघ्र स्वास्थय लाभको कामना गर्दै पुजापाठ हुन्छ ।

बुद्ध धर्ममा बैशाख पुर्णिमाको महत्व अत्यन्तै धेरै रहेको छ । बैशाख पुर्णिमामा त्रिसंयोग परेको देखिन्छ । सिद्धार्थ गौतम बुद्धको जन्म बैशाख पुर्णिमाकै दिन भएको थियो । उहाँले बुद्धत्व प्राप्त गरेको दिन पनि बैशाख पुर्णिमाकै दिन थियो । यसैगरी बुद्ध ८० बर्षको उमेरमा महापरीनिर्वाण भएको दिन पनि बैशाख पुर्णिमाकै दिन थियो ।

नेपाल लगायत बौद्ध राष्टहरु भुटान, थाईल्याण्ड, म्यानमार, मंगोलिया, कम्बोडिया, श्रीलङका, लाओस , कोरिया, जापन , चीन आदि देशहरुमा बैशाख पुर्णिमा अर्थात बुद्धजयन्तीलाई विशेष राजकीय सम्मानका साथ मनाउने गरिन्छ ।

आजभन्दा २५६५ वर्षअघि हालको लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको थियो । उहाँ जन्मिएको प्रमाणको रुपमा प्रसिद्ध मौर्य सम्राट अशोकले आफ्ना आध्यात्मिक गुरु उपगुप्तको मार्ग दर्शनमा ईसा पूर्व २४९ मा लुम्बिनीको भ्रमण गर्दै “हिद बुधे जाते शाक्यमुनिति” अर्थात यहाँ शाक्यमुनि बुद्ध जन्मिनु भएको थियो भन्ने शिलालेख सहितको ढुंगाको स्तम्भब खडा गरे जसलाई अशोका स्तम्भ भनिन्छ । उक्त स्तम्भ मायादेवि मन्दिरको पश्चिमपट्टि रहेको छ । सोहि स्तम्भमा सन् १३१२ मा कर्णालीका राजा रिपु मल्लले लुम्बिनीको भ्रमणगरी आफ्नो यात्राको स्मरण गराउन “ओम् मणि पद्मे हुम रिपु मल्ल चिरं जयतु” लेखेका छन् । बुद्ध जन्मीदा बितिकै सात पाईला हिडेको बौद्ध धर्म दर्शनमा उल्लेख छ । उनी हिडेको भनेर मायादेवि मन्दिर परिसरमा जन्मस्मारक शिला पनि राखिएको छ। उक्त शिला सन् १९९६ मा पत्ता लागेको बताइन्छ ।

कपिलवस्तुका शाक्यमुनि राजा शुद्धोधन र मायादेविको सुपुत्रको रुपमा जन्मिएका सिद्धार्थले २९ वर्षको उमेरमा दरबार छोडी निस्कनुभएको थियो । पछि वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँले भारतको बोधगयामा बुद्धत्व प्राप्त गर्नुभयो । ८० वर्षको उमेरमा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उहाँले महापरिनिर्वाण (मृत्यु) प्राप्त गर्नुभयो ।

विश्वमा बुद्धलाई कसैले भगवान, कसैले महामानब, कसैले शान्तिका दूत त कसैले एशियाका तारा भनेर मान्ने गर्दछन् । बुद्ध बचनलाई अहिले पनि उत्तिकै महत्व दिने गरिएको छ । नेपालमा वि.संं २००८ देखि बुद्धजयन्तीको दिन सार्वजनिक विदा दिन थालिएको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu