Connect with us
Kapilvast Forest

स्टिकर टाँसेको मन्त्रीज्यूलाई जानकारी थिएन त्यसको जिम्मा म लिन्छु :स्वकीय सचिव रेग्मी

२०७८, ११ जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं – नीला रंगका अक्सिजन सिलिण्डरमा वनमन्त्री प्रेम बहादुर आलेको फोटो टाँसेको तस्वीर अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ ।सोमबार हेलिकप्टर मार्फत गृह जिल्ला डोटी पुगेर मन्त्री आलेले जिल्ला अस्पताललाई हस्तान्तरण गरेका अक्सिजन सिलिन्डरमा ‘नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले ज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ लेखिएको स्टिकर टाँसिएको छ ।

मन्त्री आलेले डोटी जिल्ला अस्पताल र धनगढीको सेती प्रादेशिक अस्पतालमा पुगेर ती स्वास्थ्य सामग्री उपलब्ध गराउनु भएको छ । जिल्ला अस्पताल डोटीका सूचना अधिकारी अमर भाटका अनुसार मन्त्री आलेले ३० वटा अक्सिजन सिलिण्डर, १० लिटर सेनिटाइजर, १२ वटा जनरल बेड, ३० हजार सर्जिकल मास्क र एन्टिजेन किट उपलब्ध गराउनु भएको छ।

‘मन्त्रीलाई स्टिकर टाँसेको थाहा थिएन’

मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले विद म्यानेजमेन्ट प्रालिबाट अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री किनेर डोटी र धनगढी पठाइएको बताउनु भयो । ‘अग्रिम १५ लाख रुपैयाँ सिलिण्डरको लागि र ३ लाख रुपैयाँ मास्कको लागि विद भन्ने कम्पनीलाई दिएर प्राप्त भएको सामग्री हो,’ मन्त्री आलेका प्रमुख स्वकीय सचिव रेग्मीले भन्नु भयो ।

‘डोटी अस्पताल र सेती प्रादेशिक अस्पतालले हामीलाई अभाव भएकाले व्यक्तिगत सहयोग गरिदिनुहुन आग्रह गरेको चिठी छ । त्यही चिठीको आधारमा मन्त्री आलेले चीनबाट सामान मगाएर बालाजुमा रहेको शंकर अक्सिजन प्लान्ट र ककनीको प्लान्टमा दुई रात लगाएर भरेर जिल्लामा पठाइएको छ,’ उहाँले भन्नु भयो ।

अक्सिजन सिलिण्डरलगायतका स्वास्थ्य सामग्रीमा मन्त्रीलाई थाहै नदिइकन आफूले नै फोटोसहितको स्टिकर टाँस्न लगाएको रेग्मीले बताउनु भयो । उहाँले भन्नु भयो , ‘यी सामग्री कसले सहयोग गरेको रहेछ भनेर जनताले थाहा पाउन् भनेर सानो स्टिकर बनाएर टाँसेको हो । त्यो कुरा मन्त्रीज्यूलाई जानकारी पनि थिएन । त्यसको जिम्मा म लिन्छु ।’

विपतको बेलामा पनि स्वास्थ्य सामग्रीलाई प्रचार सामग्री जसरी प्रयोग गरेको भन्दै मन्त्री आलेको आलोचना भइरहेको छ । कतिपयले चिनियाँ अनुदानका अक्सिजन सिलिण्डरमा व्यक्तिगत सहयोग भनेर प्रचार गरेको आरोप लगाएका छन् ।

मन्त्री आलेले भने व्यक्तिगत खर्चमा किनिएका सामग्री डोटी र धनगढीका अस्पतालमा दिएको बताउनु भयो । ‘१५ वटा स्वास्थ्य विभाग टेकुले दिएको छ । ११० वटा मैले मेरो खल्तीको पैसा हालेर किनेको हुँ,’ मन्त्री आलेले हिसाब सुनाए, ‘तीमध्ये ७५ वटा डोटी जिल्लाभरि र ५० वटा धनगढी सेती प्रादेशिक अस्पतालमा पठाएको छु । यसैगरी दुई लाख मास्क डोटीमा र ५० हजार मास्क धनगढीको सेती प्रादेशिक अस्पतालमा दिएको छु । अनि चारवटा अक्सिजन कन्सन्ट्रेटर डोटीमा दिएको छु । यी सामग्री ढुवानी गर्न मात्रै एक लाख ८० हजार जति खर्च भएको छ ।’

विपतको बेला प्रचार 

यसअघि सांसदहरु हिरा केसी र गंगा चौधरीले पनि नीलो रंगका अक्सिजन सिलिण्डरहरु आफ्नो व्यक्तिगत पहलमा जुटाएको भन्दै गृहजिल्ला पुर्याउनु भएको थियो । तर मन्त्री आलेले भने उनीहरुभन्दा एक कदम अगाडि बढेर आफ्नो फोटोसहितको स्टिकर टाँसेर व्यक्तिगत रुपमा सहयोग गरेको भनेर प्रचार गर्नु भएको छ ।

व्यक्तिगत खर्च गरेर जुटाए पनि विपतको बेला राहत तथा सहयोग सामग्रीलाई यसरी प्रचारको रुपमा प्रयोग गर्न नपाइने जानकारहरु बताउँछन् । भारतको उदाहरण हेर्ने हो भने त्यसरी प्रचार गरेमा अपराध गरेसरह कारबाही गर्ने आदेश अदालतबाट भएको छ ।

तर मन्त्री आले यो काममा आफ्नो आलोचना भए पनि केही फरक नपर्ने बताउँछन् । सहयोग सामग्री वितरण गर्न अहिले धनगढीमा आइपुगेको बताउँदै उनले भने, ‘मैले आफ्नो बालबच्चाको पेट काटेर किनेर दिन नपाउने रु अहिले राज्यसँग छैन । अर्डर गरेको छ, समयमा आउँदैन । देशभरी हेर्नुपर्ने छ । मेरा जनता दिनरात दुःख पाइराखेको छ, मरी राखेका छन्, अनि मैले सेवा गर्न नपाउने रु मेरो आलोचना गरे पनि केही फरक पर्दैन ।’

 

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu