माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने
काठमाडौं-नेकपा (माओवादी केन्द्र)बाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्नुहुने भएको छ ।नेपाली कांग्रेसका सभापति एवं नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले नाम टुंगो लगाएका हुन्। यसअघि बसेको माओवादी स्थायी कमिटी बैठकले देउवासँगको छलफलपछि नाम टुंगो लगाउने तय गरेको थियो।
माओवादीले शर्मा र भुसालसँगै देव गुरुङको पनि नाम पठाएको थियो। आज दुई–दुई जना मात्रै मन्त्री बनाउने तय भएपछि शर्मा र भुसाल बन्ने तय गरिएको जनाइएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आजै देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्। साँझ ६ बजे राष्ट्रपति भवन शीतलनिवासमा शपथ ग्रहणको कार्यक्रम रहेको छ।नवनियुक्त प्रधानमन्त्री देउवाले आजै मन्त्रिपरिषद् गठन गर्ने तयारी गर्नु भएको छ जसमा माओवादीबाट दुई जनाको नाम टुंगो लागेको हो।
कांग्रेसबाट मन्त्रीको नाम टुंगो लाग्न बाँकी छ। जसपाले सरकारमा सहभागी हुने निर्णय गरे पनि आज मन्त्रीको नाम नपठाउने भएको छ। गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले आजै सरकारमा सहभागी नुहने जनाएको छ।