माधव नेपाल पक्षले राखेकाे दाेस्राे अध्यक्षकाे प्रस्ताव स्वीकार्न सकिँदैन’
काठमाडौं– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताउनुभएको छ । महासचिव पोखरेलले नेपाल पक्षले सञ्चार माध्यममार्फत राखेका ती प्रस्ताव पार्टीको विधि र विधानभन्दा फरक ढङ्गले आएको उल्लेख गर्दै स्वीकार गर्न नसकिने प्रतिक्रिया दिनुभएको हो ।
शुक्रवार थापाथलीमा रहेकाे पार्टीको केन्द्रीय कार्यालयमा आयोजित साउन १५ को खिर खाने कार्यक्रममा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले कार्य दलले सहमति जुटाएर पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेको १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा आफूहरूको जोड रहेको स्पष्ट पार्नुभयो ।
‘पार्टीको विधि र विधानभन्दा फरक ढङ्गले हुन सक्दैन । पार्टी महाधिवेशनले पारित गरेको विधान छ, नियमावली छ । हामी २०७५ साल जेठ २ गतेअघि जाने कुरा गरिरहेका छौँ । त्यसमा जाँदा त्यस बेलाको विद्यमान विधान र नियमावलीमा के छ ? त्यसले अनुमति दिने, त्यसले स्वीकार गर्ने, त्यसमा व्यवस्था भएका कुरालाई नै पालना गर्नु पर्याे नि ! सबैले’, उहाँले भन्नुभयाे ।
माधव नेपाल पक्षबाट दैनिक जसो विभिन्न प्रस्ताव आउने गरेको उल्लेख गर्दै महासचिव पोखरेलले ती प्रस्तावबारे आफूले बुझ्न नसकेको पनि बताउनुभयो । उहाँले पार्टीभित्र देखिएको विग्रहकारी स्थितिको अन्त्य छिटो हुनुपर्नेमा पनि जोड दिनुभयो । त्यसका लागि जिम्मेवारीपूर्वक भूमिका खेल्न महासचिव पोखरेलको नेपाल पक्षसँग आग्रह छ ।
महासचिव पोखरेलले पार्टी एकताको विषयलाई टुङ्ग्याएर पार्टीको महाधिवेशनको तयारीको कामलाई अघि बढाउन लागिएको जानकारीसमेत दिनुभयो ।
यस्तै एमालेले भाेलि शनिवार पार्टी स्थायी कमिटीकाे बैठक बोलाएको छ । बैठकमा पार्टीको आउँदाे महाधिवेशनमा केन्द्रित भएर छलफल हुने एमालेले जनाएको छ । माधव नेपाल पक्षसँगको एकताको विषयलाई छिटो टुङ्ग्याएर महाधिवेशनमा केन्द्रित हुन आफूहरूले चाहिरहेको महासचिव पोखरेलको भनाइ छ ।