संकटमा प्रदेश १ सरकारस् तानातानमा एमाले सांसद
काठमाडौँ – नेकपा एमालेमा फुटसँगै प्रदेश १ को सरकार संकटमा परेको छ।प्रदेश १ मा शेरधन राईको नेतृत्वमा एमालेको बहुमतको सरकार छ। एमाले औपचारिक रूपमा फुट्ने निश्चितजस्तै भएपछि प्रदेश १ सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको थियो। प्रदेशसभामा अविश्वासको प्रस्ताव आउने डरले सरकारले हतारहतार अधिवेशन अन्त्य गरेको आरोप प्रतिपक्षी दलहरूले लगाउँदै आएका छन्।
प्रदेशसभा १ मा प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकार ढल्ने निश्चित भएपछि केही दिन भए पनि सत्तामा रहन र कागजात मिलाएर भ्रष्टाचार ढाकछोप गर्न सरकारले हतारहतार प्रदेशसभाको अधिवेशन अन्त्य गरेको बताउनु भएको छ ।
उहाँले प्रदेश १ मा दसैंअघि नै नयाँ सरकार गठन हुने ठोकुवा गर्नु भएको छ । उहाँले भन्नु भयो , ‘मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकार अब, धेरै दिन नटिक्ने निश्चित भएकाले दसैंअघि नै नयाँ सरकार गठन हुन्छ।’ प्रमुख सचेतक कार्कीले प्रदेश १ मा संघमा जस्तै गठबन्धन दलहरूकै सरकार बन्ने दाबी गर्नु भयो उहाँले भन्नु भयो , ‘एमालेको सरकार ढलेपछि नयाँ सरकार कांग्रेससहितको गठबन्धनको बन्नेछ। ’एमालेका नेताहरू भने तत्काल सरकार ढल्ने अवस्था नरहेको दाबी गर्छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।