पहिलो ओडीआईमा पीएनजीमाथि नेपाल २ विकेटले विजयी
काठमाडौं -नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट खेलमा पपुवा न्यु गिनी (पीएनजी)लाई २ विकेटले पराजित गरेको छ ।उत्कृष्ट बलिङ गरेको नेपालले ब्याटिङमा संघर्ष गर्दा रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरी जिताए । ओमानमा मंगलबार भएको खेलमा पीएनजीले दिएको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
ओडीआईमा डेब्यु गरेका कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । तर ४६ रन जोडेपछि यो साझेदारी टुट्यो । भुर्तेल १२ औं ओभरमा व्यक्तिगत १५ रन जोड्दै आउट भए । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल क्रिजमा पुगे । तर १३ औं ओभरमा आसिफ पनि ३० रन बनाएर आउट भए । नेपालले ४९ रन हुँदा २ विकेट गुमायो ।
त्यसपछि नेपालले लगातार विकेट गुमाउँदा दबाबमा परेको थियो । तर लोअर अर्डरमा रोहितकुमार पौडेल र सोमपाल कामीले ईनिङ्स सम्हाल्दै नेपाललाई जितसम्म पुर्याए । ८२ रनमा ७ विकेट गुमाएको अवस्थामा रोहित र सोमपालले उत्कृष्ट साझेदारी गरे ।
छैटौं नम्बरमा ब्याटिङ गरेका रोहितले ४१ रन बनाए भने सोमपाल २२ रनमा अविजित रहे । पीएनजीका लागि गौडी टोकाले ३ तथा डनेमिएन राभु र चाड सोपरले २-२ विकेट लिए ।त्यसअघि ओमानको अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजी ३३ ओभरमा अलआउट हुँदै १३४ रन जोडेको थियो । नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि पीएनजी पूरा ओभर क्रिजमा टिक्न सकेन ।
पीएनजीका लागि ओपनर लेगा सिएकाले सर्वाधिक ३० रन बनाए भने चार्ल्स अमिनीले २३, गाउडी टोकाले २२, विकेट किपर किप्लिन डोरिगाले १५, सेसे बाउले १४ रन बनाए । चाड सोपर १७ रनमा अविजत रहे । पोकनाले १ रन जोड्दा जासोन किला र डामिएन राभुले खातासमेत खोल्न सकेनन् ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै ओडीआईमा डेब्यु गरेका विक्रम सोबले ५ ओभरमा १ मेडन राख्दै २० रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ७ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए ।
ओडीआईमा डेब्यु गरेका बिक्रमले पहिलो ओभरको पहिलो बलमै विकेट लिएर शानदार सुरुवात गरे । उनले लगातार दोस्रो ओभर बलिङ गर्ने अवसर पाउँदा पीएनजीका ओपनर टोनी उरालाई १ रनमै बोल्ड गरे । उनले पीएनजी कप्तान असद भालालई आरिफ शेखबाट क्याचआउट गराए । भालाले ४ रन जोडे ।
९ रनमै सुरुवाती दुई विकेट गुमाएपछि पीएनजीले केही सम्हालिएर खेल्ने प्रयास गर्यो । सिएका र अमिनीले तेस्रो विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै इनिङ्स उकास्न खोजेका थिए । तर नेपालका सन्दीप लामिछानेले १२ औं ओभरमा अमिनीलाई विकेटकिपर आसिफ शेखबाट क्याचआउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाए ।
त्यसपछि भने पीएनजीले नेपाली बलरसामु खुलेर खेल्न सकेन र निरन्तर विकेट गुमाउन पुग्यो । अर्को ओभरमा कुशल मल्लले सिएकालाई कट एण्ड बोल्ड गर्दा पीएनजीले चौथो विकेट गुमायो ।पीएनजीका सेसे बाउ र डोरिगाले इनिङ्स सम्हाल्न प्रयास गरेका थिए । तर स्कोर ८५ हुँदा पीएनजीले पाँचौ विकेट गुमायो ।
सन्दीपले २० औं ओभरमा सेस बाउलाई कुशल मल्लबाट क्याचआउट गराए । २३ औं ओभरमा कुशल मल्लले कुशल भुर्तेललाई डोरिगालाई क्याचआउट गराउदै नेपाललाई छैटौं सफलता दिलाए ।
जासोन किलालाई सन्दीपले २४ औं ओभरमा एलबीडब्लु धरापमा पारे । यस्तै सोमपाल कामीले ३० औं ओभरमा गाउड टोकालाई कुशल भुर्तेलबाट क्याचआउट गराउँदै नेपाललाई आठौं सफलता दिलाए । सोही ओभरमा डोमिएन राभु खाता नखोली रनआउट भए । ३३ औं ओभरको अन्तिम बलमा सन्दीपले नोसाइना पोकनालाई एलबीडब्लु धरापमा पार्दै पीएनजीको इनिङ्स समाप्त पारेका थिए ।
नेपाल र पीएनजीबीच दोस्रो ओडीआई शुक्रबार ओमानको आज खेल भएकै मैदानमा हुनेछ ।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासहितको त्रिकोणात्मक सिरिजका लागि हाल ओमानमा रहेको नेपालले त्यसको तयारीस्वरुप नेपालले पीएनजीसंग खेलेको हो ।
तीन खेलाडीको डेब्यु, सोबको कीर्तिमान
पीएनजी विरुद्धको खेलमार्फत नेपालका तीन खेलाडीले ओडीआईमा डेब्यु गरे । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखसंगै फास्ट बलर विक्रम सोबले यसै खेलबाट नेपालका लागि ओडीआईमा डेब्यु गरेका हुन् ।
नियमित विकेटकिपर विनोद भण्डारीलाई आराम दिएपछि आसिफले डेब्युमै विकेटकिपिङ गर्ने अवसर पाए । कुशल र आसिफले गत वैशाखमा नेपालमा भएको नेदरल्याण्ड्स र मलेसियासहित टी-२० त्रिकोणात्मक सिरिजबाट टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।
भुर्तेलले ५ खेल खेल्दा ४ खेलमा अर्धशतकसहित २७८ रन बनाएका थिए । यस्तै आसिफले एक अर्धशतकसहित १५४ रन बनाएका थिए ।
यस्तै बिक्रम सोबले झण्डै ६ वर्षपछि सिनियर टिममा पुनरागमन गर्दै कीर्तिमानी बलिङ गरे । उनले डेब्यु ओडीआईको पहिलो बलमै विकेट लिए । उनले ओडीआई डेब्यु खेलमा २ विकेट लिए । सोबले प्रधानमन्त्री कप र मेयर्स कपमा उत्कृष्ट प्रदर्शन गरेपछि ओमान टुरमा नेपाली टिममा स्थान बनाएका हुन् ।
ओभरमा ८ विकेट गुमाएर भेट्टायो । रोहित रन टाइ भएको अवस्थामा ४१ रन बनाएर आउट भएका थिए भने सोमपाल २२ रनमा अविजित रहे ।यसअघि पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनाएको थियो ।