Connect with us
Kapilvast Forest

काटिएको तार पुनः जोडिन्छ’

२०७८, १८ आश्विन सोमबारमा प्रकाशित

 

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले आफ्ना संरचना प्रयोग गर्ने तर भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन प्रदायकहरूको काटिएको तार हाललाई पुनः जडान गरिएको जनाएको छ । पटक–पटकको सूचना र ताकेतालाई अटेर गरेको भन्दै प्राधिकरणले केही स्थानमा साङ्केतिक रूपमा शनिबार तार काटेको दाबी गरेको छ । तार काट्दा उपभोक्तामा परेको असुविधाप्रति प्राधिकरणले क्षमा पनि मागेको छ ।

प्राधिकरणले आइतबार विज्ञप्ति जारी गरी केही सेवा प्रदायकले नियमअनुसार सम्झौता नगरी विद्युतीय संरचना प्रयोग गरिरहेको, माग भएबमोजिम जीपीएस कोअर्डिनेट नक्सा तथा दूरी खुल्ने कागजात पेस गरी नवीकरण नगरेको, परिमार्जित भाडादर भुक्तानी गर्न आनाकानी गरेको जनाएको छ । पटक–पटक सार्वजनिक सूचनामार्फत तत्काल सम्झौता गर्न आउन अनुरोध गरिएको भए पनि कतिपय कम्पनी सम्झौता गर्न नआएको उल्लेख गरेको छ ।

प्राधिकरणका अनुसार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), एनसेल, सीजी नेट, डिसहोम, फाइबर वल्र्ड कम्युनिकेसनलगायतले नयाँ भाडादरका आधारमा प्राधिकरणसँग सम्झौता गरी भाडा बुझाइसकेका छन् ।

“प्राधिकरणको संरचना प्रयोग गरी उपभोक्ताबाट आफ्नो सेवाको शुल्क लिने तर निर्धारण गरिएको भाडादर तिर्न केही सेवा प्रदायकले अस्वीकार गरेपछि शनिबार त्यस्ता सेवा प्रदायकले प्रयोग गरिएको तारको कनेक्सन केही ठाउँमा साङ्केतिक रूपमा विच्छेद गरिएको थियो,” विज्ञप्तिमा भनिएको छ, “यस्तो कार्य इन्टरनेट तथा टेलिभिजनका प्रयोगकर्ता आमउपभोक्तालाई सेवा प्रयोग गर्नबाट वञ्चित गराउन खोजिएको हाइन । ”

सरकारद्वारा गठित समितिले सिफारिस गरेको भाडादरअनुसार नै सम्झौता गर्न, नवीकरण गर्न र हालसम्मको बक्यौता रहेको भाडादर भुक्तानी गरिदिन सेवा प्रदायकलाई पटक–पटक अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बाहिर चर्चामा ल्याएजस्तो भाडादरमा उल्लेख्य वृद्धि नगरिएकोे र सेवा प्रदायकले उपभोक्ताबाट लिइरहेकोे शुल्कभन्दा भाडादर न्यून रहेको प्राधिकरणको दाबी छ । त्यस्तै केही सेवा प्रदायकले पाँच वर्षदेखि कुनै किसिमको भाडासमेत नबुझाई प्राधिकरणको संरचना प्रयोग गर्ने तर ग्राहकबाट शुल्क भने उठाइरहेको विज्ञप्तिमा जनाइएको छ । प्राधिकरणले तत्काल आफूले जडान गरेका तारको परिमाणसहित प्राधिकरणसँग सम्झौता गर्न आउन सेवा प्रदायकहरूलाई अपिलसमेत गरेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu