Connect with us
Kapilvast Forest

पोहोर बुवालाई दागबत्ती, यसपालि आमालाई

२०७८, २४ आश्विन आईतवारमा प्रकाशित

 

राजविराज- गत वर्ष कात्तिक २१ गते अन्नपूर्ण पोस्ट्ले प्रथम पृष्ठमा एउटा मार्मिक दुखान्त समाचार छापेको थियो, ‘दागबत्तीले मनै पोल्यो।’ सप्तरी राजविराज–२ का २ वर्षीय दिव्यंश साफीले काकाको काखमा बसेर बुवाको पार्थिव शरीरमा दागबत्ती दिएका थिए।

गएको सोमबार घरमा बुवा राजन साफीको वार्षिक श्राद्ध चलिरहेको थियो। आमा रुबी साफीको अचानक शंकास्पद मृत्यु भयो। ३ वर्षीय दिव्यंशले उही घाटमा पुगेर हजुरबुवाको काखमा बसी आमालाई पनि बिदा गरे।

यस्तो कारुणिक दुखान्त अरू कसैलाई नहोस्
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित सप्तकोसी नदी किनारमा सोमबार मध्यरात चकमन्न अन्धकार छ। हजुरबुवाको काखमा लुपुक्क परेर बसेका दिव्यंश मलामीहरूको गतिविधि नियालिरहेका छन्।

शास्त्रअनुसार १६ संस्कारमध्ये अन्तिम संस्कारको तयारी भइरहेको छ। श्मशान घाटमा दाउराको चाङ लगाएर मलामीहरूले चिता बनाए। परिवारका सदस्यबाट चिता बनाउने जमिन किन्ने काम भयो। परिवारका सदस्यहरूले अर्थीबाट डोरी फुकाएर शवलाई चितामा सुताए। खरले छोपेर शवका कपडाहरू हटाइयो। मृतकका एक आफन्तले पाँचवटा कौडी र दाम राखे। मृतकलाई स्वर्गमा समेत शीतलता प्राप्त होस् भनेर मुखमा चन्दनको टुक्रा राखियो।

दिव्यंशलाई यो सबै के भइरहेको छ भन्ने थाहा छैन। एक वर्षकै अवधिमा बुवा र आमाको निधनपछि टुहुरो भएका उनी घुरेर हेरिरहेका छन्। परिवारका सदस्य र मावली घरका आफन्तहरूले उनलाई सहारा दिने प्रयास गरिरहेका छन्। दिव्यंश भने आमाको साथ खोजिरहेका छन्। ‘ममी उठनुस् न..’ भनेर उठाउने असफल प्रयास गरिरहेका छन्।

राजविराज–२ स्थित घरमा ७ वर्षीया छोरी दीक्षा आमालाई कहाँ लगेको भनेर खोजिरहेकी छिन्। यता श्मशान घाटमा ३ वर्षीय दिव्यंश आमालाई उठाउन खोज्दैछन्। चिता जलाउनु अघि नै अबोध बालकको निर्दोषपन हेरेर मलामी जानेहरूको मन भतभती पोलेको हनुमाननगर कंकालिनी नगरपालिका–७ का सदानन्द रजकले बताए।

चिताको तयारीपछि सेतो कपडा बेरेका साजनले भतिजा दिव्यंशलाई बोके। दुलो पारिएको माटोको घडामा जल लिएर चितामा राखिएको पार्थिव शरीरको परिक्रमा गरे। कोसी नदी किनारमा चलिरहेको चिसो हावामा काम्दै तीन वर्ष टेकेका दिव्यंशले आमाको मुखमा दागबत्ती दिए। घिउ, खर, धुपीको साथ पाएर आगो हुरहुरी सल्कन थाल्यो। दिव्यंश भने ‘ममी, ममी’ भनेर रुन थाले।

कोभिड–१९ को कहरबीच नियमित फार्मेसी सञ्चालनमा खटिएका राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका फार्मेसी सहायक २८ वर्षीय राजन साफीको गत वर्ष कात्तिक १९ गते कोभिडका कारण मृत्यु भएको थियो। सोमबार उनको वार्षिक तिथिका दिन श्राद्धको कर्मका लागि घरमा तयारी भइरहेका बेला झुण्डिएको अवस्थामा राजनकी श्रीमती २४ वर्षीया रुबीसमेत मृत फेला परिन्।

राजनको वार्षिक श्राद्धका लागि आफन्त, पाहुनाहरू काठमाडौं, विराटनगर, धरानबाट आइपुगेका थिए। पाहुनाहरू रुँदै रुबीको मलामी बने। अन्नपूर्ण

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu