दुई घरमा आगलागी हुँदा ६७ लाखको क्षति
इलाम-जिल्लाका देउमाई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाका दुई घरमा गएराति भएको आगलागीमा ६७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।देउमाई नगरपालिका–२, महभिरस्थित चन्द्रप्रसाद पौडेलको घरमा आगलागी हुँदा ६१ लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ। पसल, दुग्ध डेरीलगायत रहेको दुईतल्ले कच्ची घरमा विद्युत् सर्ट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाबहादुर थापाले बताउनु भयो ।
घरमा रहेको १० तोला सुन, ५ लाख नगद, पसलका सामग्रीलगायत आगलागीमा क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। रक्से प्रहरी चौकीबाट खटिएको टोली र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो।
माङ्सेबुुङ गाउँपालिका–२, भोटेडाँडामा पनि पसल रहेकै घरमा आगलागी हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। विद्युत् सर्ट भइ आगलागी हुँदा घर र पसलमा रहेका सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।