केपी गुटका कारण मधेशको पक्षमा संविधान संशोधन गर्न सकिनँ : प्रचण्ड
काठमाडौं – नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा रहेका एक मधेसी नेतालाई ‘कुकुरको पुच्छर’ सँग तुलना गर्दै कटाक्ष गर्नु भएको छ ।
नेता प्रभू शाहको नाम नलिइकन उनले ‘एक नेता सचिन्छु भनेर माओवादीमा आएको तर फेरि केपी गुटमै फर्किएको’ टिप्पणी गर्नु भयो ।पेरिसडाँडामा आयोजित कार्यक्रममा रौतहटका कार्यकर्तालाई माओवादी प्रवेश गराउँदै प्रचण्डले यस्तो बताउनु भयो ।
उहाँले भन्नु भयो ‘हिजो माओवादी आन्दोलनमा भएका एक व्यक्तिले तपाईंहरुलाई भ्रम दिए । उनी ओरिजिनल त एमाले केपी गुटकै मान्छे थिए । प्राकृतिक स्वरुप क्या त । पछि सचिन्छु, माओवादी बन्छु भनेर आए । तर, कुकुरको पुच्छर १२ वर्ष ढुंग्रामा हाले पनि बांगाको बांगो नै भनेजस्तो गरी केपी गुटमै फर्किए ।’
प्रचण्डले एमालेको केपी गुटका कारण आफूले मधेसको पक्षमा संविधान संशोधन गर्न नसकेको गुनासो पनि सुनाउनु भयो ।उहाँले भन्नु भयो , ‘तपाईंहरुलाई थाहा छ नि, एमाले भन्ने केपी गुट मधेशविरोधि, महिलाविरोधी जनजाति विरोधि हो । मैले दुईपटक संविधान संसोधन गर्ने भनेर प्रस्ताव लगेको हुँ । त्यही केपी गुटले पारित हुन दिएन ।’