Connect with us
Kapilvast Forest

तालमेलको संस्कृतिले कसैलाई राम्रो गर्दैन : महामन्त्री थापा

२०७९, १ बैशाख बिहीबारमा प्रकाशित

 

काठमाडौँ -नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दलहरूबीच अहिले अभ्यासमा रहेको तालमेल संस्कृतिले नेपालको लोकतन्त्रलाई कमजोर बनाउने बताएका छन् । नयाँ वर्षको अवसरमा महामन्त्री थापाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्दै स्थानीय चुनावको सम्मुखमा स्थानीय मुद्दा र गतिविधिमाथि बहस हुनुपर्नेमा त्यो भन्दा धेरै गठबन्धनको बहस भएकोमा दुःख व्यक्त गरे ।

 

‘अहिले हामी स्थानीय चुनावमा होमिएका छौँ । जनता बलियो हुने, राजनीतिक दल कमजोर हुने बेला हो । त्यसैले यो लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण चरण हो,’ उनले भने, ‘राजनीतिक व्यवस्थामा दलहरुबीचमा गठबन्धन नै नहुने भन्ने होइन । तर हामीले जुन खालको तालमेलको राजनीतिक संस्कृतितर्फ जादैछौँ, यसले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो गर्दैन । यसले हाम्रो पार्टीलाई मात्रै होइन, कसैलाई पनि राम्रो गर्दैन ।’

 

उनले चुनावमा कसले धेरै दलसँग गठबन्धन गर्नेभन्दा बढी विचारको प्रतिस्पर्धा हुनु आवश्यक रहेको बताए । ‘स्थानीय निर्वाचनमा हामीले आफ्नो बारेमा चर्चा गर्नुपर्ने हो । हाम्रो ठाउँ कसरी राम्रो बनाउने भनेर चर्चा, छलफल र बहस गर्नुपर्ने हो, विचारको प्रतिस्पर्धा हुनुपर्ने हो,’ उनले भने, ‘तर अनौठो र अमिलो महसुस भइरहेको छ कि स्थानीय चुनावमा गाउँठाउँका मुद्दाहरु भन्दा पनि गठबन्धनको विषयले चर्चा पाएको छ ।’

 

महामन्त्री थापाले सत्ता गठबन्धनको विरोध गर्ने नेकपा एमाले पनि बाटोमा जो भेटिन्छ, ती सबैसँग गठबन्धन गर्दै अघि बढेको बताए । ‘म नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीका कुराहरु सुनिरहेको हुन्छु, उहाँ भनिरहनुभएको छ कि यो गठबन्धन फत्रक्क कुहिएर झरोस्, यो त अपराधीहरुको गठबन्धन हो,’ थापाले अघि भने, ‘तर त्यसो भन्दै हिड्ने उहाँले के गर्दै हुनुहुन्छ भने बाटोमा जो भेटिन्छ, उसैसँग गठबन्धन गरिरहनुभएको छ । हिजो कमल थापालाई जोड्नुभयो । हुँदा–हुँदा परिवार दललाई समेत आफूसँग जोड्नुभयो । अरु कुन-कुन दलहरु भेटिन्छन् भनेर उहाँले यता चहारेको, उता चहारेको हामी देख्न सक्छौँ ।’

 

उनले एउटा पार्टीको चुनाव चिन्हबाट चुनाव जितेर पाँच वर्ष जनप्रतिनिधि भएको व्यक्ति अहिले चुनाव आउँदा टिकट पाउने नाउँमा रातारात दल परिवर्तन गरिरहेको प्रति समेत आश्चर्य प्रकट गरे । ‘चुनावको मुखमा आएर मान्छेहरु कताबाट टिकट पाइन्छ भनेर पार्टी चाहारेको छ, एउटामा नपाए अर्कोमा गएको छ । हाम्रोमा पनि आएको छ । एउटा पार्टीको चुनाव चिह्नबाट जितेर पाँच वर्ष सरकार चलाएको मान्छे अर्को चुनाव आउँदा टिकट पाउने नाउँमा अर्को पार्टीमा हाम्फालेको छ,’ उनले भने, ‘यो अभ्यास त्यति राम्रो हो जस्तो लाग्दैन ।’

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu