Connect with us
Kapilvast Forest

७५३ वटै स्थानीय तहमा वैशाख ८ गते निर्वाचन अधिकृतको कार्यालय खुल्ने

२०७९, ४ बैशाख आईतवारमा प्रकाशित

election

 

काठमाडौं- देशभरका ७५३ वटै स्थानीय तहमा वैशाख ८ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय खुल्ने भएको छ। निर्वाचन आयोगले प्रशिक्षण दिएलगत्तै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र कर्मचारी कार्यक्षेत्रमा खटिन लागेका हुन्।

आयोगले गत चैत ३० देखि वैशाख ३ गतेसम्म निर्वाचन अधिकारी र कर्मचारीलाई निर्वाचन व्यवस्थापन तथा सञ्चालन प्रशिक्षण दिएको थियो। ‘ निर्वाचन अधिकारीहरुलाई कार्यक्षेत्रमा पुग्न वैशाख ७ गतेसम्मको समय दिइएको छ’, आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने, ‘जिल्ला निर्वाचन कार्यालयको समन्वयमा उनीहरूले स्थानीय तहमा कार्यालय स्थापनादेखि कर्मचारी व्यवस्थापनसम्मका काम गर्नेछन्।’

निर्वाचन आचारसंहिता पालना गर्न गराउन पनि उनीहरुले भूमिका निर्वाह गर्ने अर्यालले जानकारी दिए। उनले थपे ‘आयोगका प्रतिनिधिका रुपमा स्थानीय तहमा पुगेका उनीहरुले निर्वाचनको सम्पूर्ण तयारीदेखि मतदान र मतगणनापछि निर्वाचित जनप्रतिनिधिको घोषणा गर्नेछन्।’ निर्वाचन आयोगले ७७ जिल्लाका न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ।

निर्वाचन तालिका अनुसार आगामी ११ र १२ गते उम्मेदवारी दर्ता हुनेछ। १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ गते मनोनयन पत्र र उजुरी जाँचबुझ गरी १६ गते अन्तिम नामावली प्रकाशन हुनेछ। १७ गते आयोगले उम्मेदवारलाई चुनाव चिह्न दिने तयारी गरेको छ। वैशाख ३० गते हुने मतदानका लागि २७ गते मध्यरातदेखि मौन अवधि सुरु हुने आयोगले जनाएको छ।

मुख्य निर्वाचन अधिकृतको काम कर्तव्य र अधिकार

निर्वाचन आयोगले स्वीकृत स्थानीय तह निर्वाचन निर्देशिका २०७८ का अनुसार मुख्य निर्वाचन अधिकृतले संविधानबमोजिम आयोगको निर्देशनमा तोकिएको जिल्ला भित्रको निर्वाचनसम्बन्धी कामको समन्वय र सुपरीवेक्षण गरी आवश्यक निर्देशन दिनेछ।

मुख्य निर्वाचन अधिकृतले तोकिएको जिल्लाको सदमुकाम रहेको पालिकाको निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकारको समेत प्रयोग गर्ने व्यवस्था छ।
यस्तै, जिल्ला समन्वय समितिको निर्वाचन गर्ने गराउने जिम्मेवारी पनि मुख्य निर्वाचन अधिकृतको रहेको छ।

मुख्य निर्वाचन अधिकृतले निर्वाचनको लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापनको लागि संघ, प्रदेश र स्थानीय तहका कर्मचारी वा सरकार अन्तर्गतका संघसंस्था, विश्वविद्यालय र सामुदायिक विद्यालयका शिक्षक निर्वाचन कार्यालयबाट माग गर्नेछ।

यस्तै जिल्लाभित्रको निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउने, निर्वाचन सकिएपछि जिल्लाका निर्वाचन अधिकृतबाट प्राप्त प्रतिवेदनको आधारमा एकमुष्ट प्रतिवेदन तयार गरी मुख्य निर्वाचन अधिकृतले आयोगसमक्ष पेश गर्नेछ।

निर्वाचन अधिकृतले के गर्छन्?

निर्वाचन आयोगबाट प्रवाहित निर्वाचन कार्यक्रम आफ्नो कार्यालय र सम्बन्धित स्थानीय तहको कार्यलयमा प्रकाशन गर्ने गराउने काम निर्वाचन अधिकृतले गर्ने व्यवस्था स्थानीय तह निर्वाचन निर्देशिका २०७८ मा उल्लेख छ।

तीबाहेक मतदान केन्द्रको सूची प्रकाशन गर्ने, मतदान केन्द्र तथा मतगणना गर्ने स्थान र सो कार्यमा खटिएका कर्मचारी र निर्वाचन पर्यवेक्षकलाई आवश्यक सुरक्षा प्रबन्धका लागि स्थानीय प्रशासनसँग समन्वय निर्वाचन अधिकृतले गर्नेछ।

यसैगरी मतदानको दिन मतदान केन्द्रको अनुगमन, निरीक्षण तथा रेखदेख गर्ने, सम्बन्धित पालिकाका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन पछि मतगणना गर्ने, मतगणना सकिएपछि परिणामको घोषणा गर्नेछ। साथै मतपरिणामको विवरण आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यलय र निर्वाचन कार्यलयमा पठाउने जिम्मेवारी निर्वाचन अधिकृतलाई दिइएको छ।

निर्वाचन अधिकृतले आयोगले बनाएको आर्थिक व्यवस्थापन कार्यविधिअनुसार खर्च गर्ने र लेखा राख्नेदेखि कोष तथा लेखा नियन्त्रक कार्यालयबाट आन्तरिक लेखापरीक्षण गराई प्रमाणित आर्थिक विवरण पेश गर्नेछ।

निर्वाचनको अन्तिम परिणाम प्रकाशन भएको १५ दिनभित्र प्रमाणित आर्थिक विवरण सम्बन्धित निर्वाचन कार्यलयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। सम्बन्धित निकायलाई निर्वाचन आचारसंहिता पालना गर्न गराउन पनि निर्वाचन अधिकृतले भूमिका निर्वाह गर्नेछ।

निर्वाचन कार्यालयमा खटिने जनशक्ति

स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन ) निर्देशिका २०७८ का अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यलयमा ९ कर्मचारी रहनेछन्। एक मुख्य निर्वाचन अधिकृत, एक सहायक निर्वाचन अधिकृत, लेखापाल, सहायक कर्मचारी, कम्प्युटर अपरेटर, सवारी चालक, निजि सुरक्षा अधिकारी एक\एक जना र कार्यालय सहयोगी दुई जना रहने व्यवस्था छ।

महानगरपालिका क्षेत्रको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भने प्रशासनिक कामको लागि थप एक जना अधिकृत स्तरको कर्मचारी रहनेछन्। यस्तै निर्वाचन अधिकृतको कार्यालयमा पनि एक निर्वाचन अधिकृतसहित ९ कर्मचारी रहने व्यवस्था छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu