महँगीले भान्साबाटै विद्रोह हुने परिस्थिति बन्दैछ : प्रचण्ड
काठमाडाै – नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महँगीले जनजीवन अस्तव्यस्त बनाउन थालेकाले जसरी पनि यसलाई घटाउनुपर्ने बताउनुभएको छ ।
संसदमा बोल्दै उहाँले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाएर र हटाएर भए पनि मूल्यवृद्धि रोक्नुपर्ने बताउनुभयो । कोराेनाको कारणले सिर्जित परिस्थिति, अर्थतन्त्र, अन्तर्राष्ट्रिय राजनीतिमा देखा परेको नयाँ परिस्थिति र युद्धहरूका कारण विश्वभर नै मूल्य बढेको तर सरकारले यसलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
‘महँगीको मारले नेपाली नागरिकको ढाड सेकिएकै छ । प्रत्येक भान्साबाट विद्रोह हुने हो कि भन्ने परिस्थिति बन्दैछ । दिन प्रतिदिन बढेको महँगीका कारण जनता आजित हुने परिस्थिति बनेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि जसरी भएको छ हाम्रा छिमेकीहरूले यो मूल्यवृद्धिको मारबाट जनतालाई जोगाउनका लागि पहिला उठाउने भनेको कर छुट दिएर त्यसबाट मूल्य समायोजन गर्ने कोसिस भएको छ । हाम्रो पनि यसअगाडि पेट्रोलियम पदार्थमा जुन कर लगाउने गरिएको छस त्यो कर घटाएर र हटाएर जसरी भए पनि जनतालाई राहत दिने कुरामा सरकारको ध्यान जाओस्’ प्रचण्डले भन्नुभयो ।