ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्माको उम्मेद्वारी घोषणा
काठमाडौँ- ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्माले उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
परिषद्का वर्तमान उपाध्यक्षसमेत रहनुभएका शर्माले आज पत्रकार सम्मेलन गरी आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो ।

पत्रकार सम्मेलनमा अध्यक्ष पदका उम्मेदवार शर्माले ठमेललाई आन्तरिक र बाह्य पर्यटकको विशेष पर्यटकीय क्षेत्र बनाउनका लागि आफुले अध्यक्ष पदमा उम्मेदवारी दिएको जानकारी दिनुभयो ।
उहाँले ठमेल क्षेत्रको सुरक्षाका लागि ५०० सिसि क्यामरा जडान गर्ने, सादा पोशाकमा प्रहरी परिचालन गर्ने, ठमेलभित्र ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । “ठमेल क्षेत्रको फोहोर व्यवस्थापन, सडक तथा ढल व्यवस्थापन, तार तथा सडक बत्ती व्यवस्थापन, विकृतिमुक्त ठमेल, व्यवस्थित ठमेल, घरवेटी व्यवसायीबीच सुमधुर सम्बन्ध कायम गर्न अध्यक्ष पदमा मेरो उम्मेदवारी हो,”– उहाँले भन्नुभयो । शर्माले ठमेलभित्रको स्थानीय रितिरिवाज र संस्कृतिको जर्गेना गर्दै ठमेललाई पर्यटकको अनिवार्य गन्तव्यको रुपमा विकास गरिने बताउनुभयो । 
ठमेलभित्र व्यवस्थित पार्किङ, ठमेललाई अझ सुन्दर, व्यवस्थित र पर्यटकको आकर्षक केन्द्र बनाउन गोलमेच सम्मेलन गर्ने, ठमेलका समस्या थाहा पाउनका लागि गुनासो बक्स स्थापना गर्ने, ठमेलभित्रका व्यवसायी र घरवेटीलाई तालिम प्रदान गर्ने, पर्यटन व्यवसायी कार्ड उपलब्ध गराईने बताइएको छ । तारको व्यवस्थापन र होर्डिङ वोर्डलाई व्यवस्थित बनाइने शर्माले बताउनुभयो ।
अध्यक्ष शर्माको समूहबाट उपाध्यक्षमा सहदेव धमला र महासचिवमा बद्री तिमल्सिनाले उम्मेदवारी घोषणा गर्नुभएको छ । बाँकी पदमा पनि चाँडै नै उम्मेदवारी घोषणा गर्ने अध्यक्षका उम्मेवार शर्माले जानकारी दिनुभयो । अध्यक्षका उम्मेदवार शर्मा ठमेल पर्यटन विकास परिषद्को सदस्य, महासचिव र उपाध्यक्ष भइसक्नुभएको छ ।
विस २०४७ सालमा स्थापना भएको ठमेल पर्यटन विकास परिषद्मा हाल एक हजार ८०० भन्दा बढी व्यवसायी तथा घरधनी आवद्ध हुनुहुन्छ । ठमेल पर्यटन विकास परिषद्को २७ औँ साधारण सभा एवम् निर्वाचन आगामी असार ३२ गते काठमाडौँमा हुँदैछ ।