राप्रपासँग तालमेल गर्दा समस्यामा पर्ने एमाले नेताहरू
काठमाडौं-सत्तारुढ दलहरुले गठबन्धन गरेपछि दबावमा परेको नेकपा एमालेले साना पार्टीहरुसँग तालमेलको प्रक्रिया अगाडि बढाएको छ । अध्यक्ष केपी शर्मा ओलीकै अग्रसरतामा पूर्वपञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग तालमेलको प्रयत्न भइरहेको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ एमालेसँग तालमेलबारे पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले छलफल गरिरहेको बताउँछन् । ‘पार्टीले अध्यक्षलाई जिम्मा दिएको हो, उहाँले नै कुराकानी गरिरहनुभएको छ’, श्रेष्ठ भन्छन् ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल भने कुराकानी भइरहे पनि २२ भदौ अगाडि यसबारे कुनै निर्णय नहुने बताउँछन् । ‘तलबाट आएको सिफारिस हेरेपछि थप निर्णय हुन्छ, त्यसअघि केही हुन्न’, उनी भन्छन् ।
चुनावी तालमेलबारे ओलीसँग लिङ्देनले बालकोट पुगेरै यसअघि कुराकानी गरेका थिए । राप्रपाका महामन्त्री कुन्ती शाही र केन्द्रीय सदस्य रेखा थापाले पनि ओलीसँग भेटेका थिए । दुवैतिरका नेताहरू तालमेल हुनेमा बढी विश्वस्त छन् । त्यसको कारण भने सत्तारुढ दलहरुले गठबन्धन गरेकाले एमाले र राप्रपा दुवैलाई तालमेलको खाँचो छ ।