Connect with us
Kapilvast Forest

जाडो छल्न विदेशबाट नेपाल आइपुगे चरा

२०७९, २५ भाद्र शनिबारमा प्रकाशित

मोरङ – भदौको मध्यसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरु भएको छ । चैत अन्तिमसम्म जाडो छल्न नेपाल आउने विदेशी पर्यटक चरा विगतका वर्षमा झैँ यस वर्ष पनि फाट्टफुट्ट नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् ।

सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष चराको राजधानीजस्तै बनेको छ । देशभरि पाइने आठ सय ८८ चरामध्ये अहिले यहाँ पाँच सय ३१ चरा फेला परिसकेका छन् । ‘नेपालमा पाइने सबै प्रजातिका चरा पनि वर्षभरि नै नेपालमै रहन्छन् भन्ने हुँदैनन्’, वर्ड वाचिङ क्याम्प कोसी टप्पुका सञ्चालक कुरमान मन्सुरी बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘नेपालमा हिउँदमा आउने हिउँदे आगन्तुक र वसन्त ऋतुको आगमनसँगै आउने आगन्तुक पाहुना चराको बसाइँसराइँ वर्षभरि नै निरन्तर चलिरहन्छ ।’

कोसी टप्पुमा बर्सेनि नयाँ–नयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षहरूमा झैँ झुण्ड–झुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको मन्सुरी बताउनुहुन्छ । उहाँका अनुसार कोसीटप्पुकै आसपासमा रहेको बर्जु ताल र मोरङको बेतना सिमसारमा भने अझै पनि पाउना चरा झुण्डमै आउने गरेको पाइएको छ । प्राध्यापक डा. दामोदर थापा क्षेत्रीका अनुसार नेपालको विभिन्न भागबाट तथा दक्षिण भारत र साइबेरीयासम्मका चरा बेतनामा मज्जाले हेर्न पाइन्छ । ‘कोसी टप्पुमा आउने प्रायजसो पाहुना चरा यहाँ पनि आइपुग्छन्’, विशेष गरी मङ्सिरदेखि फागुन महिनासम्म विदेशी चरा यहाँ बस्ने उहाँले बताउनुभयो ।

प्रा. डा. थापाका अनुसार बेतना सिमसार राजमार्गसँगै जोडिएको र वनभोजस्थल पनि रहेकाले त्यहाँका पाहुना चरालाई निकै असर पुर्‍याएको छ तर केही मात्रामा चाहिँ बिस्तारै–बिस्तारै स्वाभाविक हुँदै जाँदा पनि रहेछन् । साइबेरियादेखि आउने एक प्रकारका चरा, कर्मोरेन्ट (लामो घाँटी भएको एक प्रकारको चरा), विभिन्न किसिमका बकुल्लाका जात र पानी हाँसका विभिन्न जात प्रशस्तै पाइने गरेको प्रा. डा. थापाले बताउनुभयो ।

उत्तरी ध्रुवमा हिमपातको सुरुवातसँगै हिउँदयामको बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भू–भाग तथा ताल, तलैया र नदी आसपासमा हजारौँ पर्यटक चरा बसाइँसरी आउने गर्दछन् ।

बर्सेनि झन्डै एक सय ५० प्रजातिका चरा रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरबैजान, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेको तथ्याङ्क रहेको छ । झन्डै ५० प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै दक्षिणी देश भारत, पाकिस्तान र श्रीलङ्कातिर जाने गर्दछन् । जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोसीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी ताल, जगदीशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोसी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा नै प्रायः रहने गर्दछन् ।

जाडोयाममा नेपालमा बसाइँ सरेर आउने चराको धेरैजसो हिस्सा हाँस प्रजातिले ओगट्छन् । अन्य प्रजातिमा सिकारी तथा माँसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइ आदि पर्दछन् ।

दक्षिणी देश र अफ्रिकाबाट हजारौँ ग्रीष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्दछन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै बासस्थानमा फर्कन्छन् । यसरी आउने झन्डै ६० प्रजातिका चराको धेरैजसो हिस्सा कोइली प्रजातिको हुन्छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरू चराको गुँडमा पार्दिन्छन् । ती चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ ।

नेपाल आउने अन्यमा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि रहन्छन् । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य पासस्थान भने वन र यस आसपासका घाँसे मैदान तथा कृषि भूमि हुन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu