एमाले अध्यक्ष ओली जनकपुर रेलमा
धनुषा- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नेपाली रेलमा चढेर सरर यात्रा गर्नुभएको छ । धनुषा निर्वाचन क्षेत्र नं. २ मा पर्ने विदेह नगरपालिकामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जानेक्रममा उहाँले नेपालको एक मात्र जनकपुर–जयनगर रेल चढेर यात्रा गर्नुभएको हो ।
पूर्व प्रधानमन्त्री ओली नेतृत्वको सरकारले धनुषाको कुर्थादेखि जनकपुरधाम हुँदै भारतको जयनगरसम्म रेल सेवा सञ्चालनका लागि रेलको दुई वटा इन्जिनसहितको वोगी भारतबाट खरिद गरेको थियो । ओली धनुषा आएकोबेला रेलको यात्रा गर्नुभएको एमाले केन्द्रीय सदस्य सञ्जीव झाले जानकारी दिनुभयो । पूर्व प्रधानमन्त्री रेल यात्रा गर्ने भएपछि शनिबार एक घण्टा ढिलो गरी रेल जनकपुरधामबाट भारतको जयनगरसम्मका लागि प्रस्थान गरेको थियो ।