सिभिल क्यापिटल मार्केटले गर्याे लगानीकर्ता सचेतना अभिबृद्धि कार्यक्रम, उत्साहजनक सहभागीता
काठमाडौं- “विश्व लगानीकर्ता सप्ताह -२०२२” को अवसरमा सिभिल क्यापिटल मार्केट लिमिटेडले धुलिखेलमा “लगानीकर्ता सचेतना अभिबृद्धि कार्यक्रम” सम्पन्न गरेको छ ।
धुलिखेल तालिम केन्द्रमा संचालित कार्यक्रममा प्रमुख आतिथ्यता गैरसरकारी संस्था महासंघ काभ्रेका अध्यक्ष गंगा दोङ र आतिथ्यता रिमरेक काभ्रेका अध्यक्ष रमेश गौतम, धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष मन्जु कुमार कोजु र बेथानचोक जेसीजका निवर्तमान अध्यक्ष हरिकृष्ण दाहालको रहेको थियो ।
धितोपत्र बजार नियमन निकायको अन्तराष्ट्रिय संस्था IOSCO को आह्वानमा २०७९ असोज २६ गतेदेखि कार्तिक १ गते सम्म धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धि देशब्यापी रुपमा सचेतना तथा ज्ञान अभिवृद्धि कार्यक्रम आयोजना भैरहेको छ । उक्त कार्यक्रममा सिभिल क्यापिटल मार्केट लिमिटेडका लगानी ब्यवस्थापन प्रमुख मणिराज काफ्लेले धितोपत्र तथा वस्तु विनिमय बजारमा जोखिम रहित लगानीका लागि हितग्राही खाता संचालन, दोश्रो बजारमा धितोपत्र कारोबार गर्दा अपनाउनु पर्ने संयमता, हल्लाको भरमा लगानी नगरि कम्पनीको वित्तीय अवस्थालाई अध्ययन गरि लगानी गर्न महत्त्वपूर्ण सुझाव तथा जानकारीहरु दिनुभयो ।
कार्यक्रममा काभ्रेली महिला संस्थाहरुको जिल्ला संजालका अध्यक्ष कमला तामाङ,परिवर्तनका लागि कार्यरत महिला केन्द्र (वाच) काभ्रेका सचिव निर्मला काफ्ले ,राष्ट्रिय उपभोक्ता मञ्च काभ्रेका अध्यक्ष माधव श्रेष्ठ , धुलिखेल नगरपालिका वडा नं.६ वडा सदस्य रामदेवी श्रेष्ठको उपस्थिति रहेको थियोे ।
प्रमुख अथिती गैरसरकारी संस्था महासंघका अध्यक्ष गंगा दोङले यस्ता किसिमका लगानीकर्ता सचेतना कार्यक्रमले धितोपत्र बजारमा लगानी गरि प्रतिफल लिन र जोखिम ब्यस्थापनमा सहज हुने जानकारी दिनु भयो। सहभागीहरुको जिज्ञासालाई सम्बोधन गरि कार्यक्रम सम्पन्न भएको क्यापिटलका लगानी ब्यवस्थापन प्रमुख मणिराज काफ्लेले जानकारी दिनुभयाे।