खाद्य व्यवस्था तथा व्यापार कम्पनी भैरहवामा किसानहरूले गरे तालाबन्दी
बुटवल- धान खरिद प्रक्रिया अविलम्ब अगाडि बढाउन र मलको सहज आपूर्तिको माग गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवामा तालाबन्दी गरिएको छ ।
अखिल नेपाल किसान महासंघ र नेपाल किसान महासंघले संयुक्त रूपमा घोषणा गरेका संघर्षका कार्यक्रमअन्तर्गत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवामा तालाबन्दी गरिएको अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका सचिव महेन्द्र गिरीले बताए ।
कार्यक्रमअनुसार आम किसानलाई संघर्षमा उत्रिन आह्वान गर्दै देशव्यापी रूपमा किसान महासंघका संगठन परिचालन, प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइ किसानका समस्याबारे ध्यानाकर्षण गराउने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई ज्ञापनपत्र बुझाउने, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयमा धर्ना तथा तालाबन्दी, विभिन्न जिल्ला र स्थानीयस्तरमा किसान प्रदर्शन, र्याली तथा सभाको आयोजना गरिने नेपाल किसान महासंघ रुपन्देहीका अध्यक्ष बेगबहादुर कुँवरले बताए । निर्धारित आन्दोलनको अवधिभित्र धान खरिद प्रक्रिया सुरु नगरिए दोस्रो चरणका संघर्षका कार्यक्रम सञ्चालन गरिने अखिल नेपाल किसान महासंघ रुपन्देहीका अध्यक्ष कृष्णप्रसाद पन्थीले बताए ।
सोही क्रममा नेपाल किसान महासंघ रुपन्देही र अखिल नेपाल किसान महासंघ रुपन्देहीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवाका प्रमुखलाई संयुक्त रूपमा ज्ञापनपत्रसमेत बुझाएका छन् । अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका सचिव महेन्द्र गिरीले अविलम्ब किसानबाट धान खरिद प्रक्रिया अगाडि बढाउन र हिउँदे खेतीका लागि आवश्यक मलको तत्काल व्यवस्था गर्न माग गरे ।
धानबाली भित्र्याउने समय सुरु हुनासाथ धान खरिद प्रक्रिया अगाडि बढाउनुपर्नेमा सम्पूर्ण उत्पादित धान व्यापारीकहाँ पुग्न लाग्दासम्म धान खरिद नगर्ने सरकारको निकाय मुकदर्शक बनेर बस्नु बिडम्बना भएको गिरीले बताए । सरकारी निकायले धान खरिद प्रक्रिया सुरु नगरेकाले किसान व्यापारीलाई सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएको उनको भनाइ छ । त्यस्तै, खेती लगाउने समयमा मलबिउको अभाव, कृषि उत्पादन लागतमा भएको मूल्यवृद्धि, कृषि श्रमिकको अभावजस्ता समस्याका बाबजुद उत्पादित उपजमा बजारको मनोमानी कहिलेसम्म भन्दै उनले प्रश्न गरे । गत १६ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षका लागि धानको समर्थन मूल्य निर्धारण गरेको थियो । जसअनुसार मोटा धानको मूल्य २ हजार ९६७ र मध्यम धानको मूल्य ३ हजार १२८ निर्धारण गरेको थियो । गत वर्षको भन्दा मोटा धानमा प्रतिक्विन्टल २१५ र मध्यम धानमा २२६ रुपैयाँ वृद्धि गरेको भए पनि लागत मूल्य र मुद्रास्फितिका आधारमा सरकारले निर्धारण गरेको मूल्यले किसानलाई लाभ पुग्ने स्थिति नरहेको किसानहरूको भनाइ छ ।