Connect with us
Kapilvast Forest

सुदूरपश्चिममा १६ सय कुष्ठ रोगी भेटिए

२०७९, १५ माघ आईतवारमा प्रकाशित

सुदूरपश्चिम प्रदेशमा ७ वर्षको अवधीमा झण्डै १६ सय जना कुष्ठरोगी भेटिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म प्रदेशभर एक हजार ५९१ जना कुष्ठ रोगी भेटिएका हुन् ।

स्वास्थ्य निर्देशनालयले विभिन्न स्वास्थ्य संस्था, स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा समुदाय स्तरमा गर्ने खोज परिचालन कार्यक्रमका क्रममा वर्षेनी कम्तीमा पनि डेढ सयदेखि तीन सय जनासम्म कुष्ठ रोगी फेला पर्ने गरेका छन् । रोग लुकाउनु हुँदैन भन्ने चेतनाका कारण बिरामीहरु उपचार गर्न आएकाले संख्या बढेको हुन सक्ने निर्देशनालयका अधिकारीहरु बताउँछन् ।

स्वास्थ्य निर्देशनालय दिपायलका क्षयकुष्ठ अधिकृत मनोज ओझाकाअनुसार प्रदेशका विभिन्न जिल्लामा गरिएको खोज परिचालन कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७२/७३ मा २०८ जना कुष्ठ रोगी भेटिएका थिए ।

त्यो संख्या आर्थिक वर्ष २०७५/७६ सम्म वर्षेनी पृद्धि हुँदै गएको देखिन्छ । आर्थिक वर्ष २०७३/७४ मा २०९ जना, आर्थिक वर्ष २०७४/७५ मा २९८, आर्थिक वर्ष २०७५/७६ मा २५४ जनामा कुष्ठ रोग भेटिएको थियो । तर आर्थिक वर्ष आर्थिक वर्ष २०७६/७७ देखि भने संख्यात्मक रुपमा अघिल्ला वर्षको भन्दा कम मानिसमा रोग देखिएको छ ।

आर्थिक वर्ष आर्थिक वर्ष २०७६/७७ मा १३७ जनामा रोग भेटिएकोमा आर्थिक वर्ष आर्थिक वर्ष २०७७/७८ मा २०८ र ०७८/७९ मा २०५ जनामा रोग भेटिएको छ । चालु आर्थिक वर्षको ६ महिनामा भने ७२ जना कुष्ठ रोगी भेटिएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

कुष्ठरोग संक्रामक भएपनि अहिलेसम्म मानिसको ज्यान नगएको क्षयकुष्ठ अधिकृत ओझाले बताए ।

तर कुष्ठ रोग लागेका व्यक्तिले कम्तीमा पनि ६ महिनादेखि २४ महिनासम्म उपचार गराउनुपर्ने बताउदै ओझाले सरकारले निःशुल्क औषधी दिदै आएको पनि जनाए ।

उनका अनुसार कुष्ठ रोग पत्ता लागेकामध्ये हाल सबैभन्दा बढी कैलालीमा एक सय ३१ कञ्चनपुरमा ३२ र अछाममा २५ जना उपचारमा रहेका छन् । डोटीमामा ५, बाजुरामा ४, बझाङमा ३, दार्चुला र बैतडीमा २/२ र डडेल्धुरामा १ जना कुष्ठ रोगी उपचाररत रहेको ओझाले बताए । गत वर्ष प्रदेशमा २०५ जनामा कुष्ठ रोग लागेको पाइएकोमा १११ पुरुष, ९४ महिला, २ बालबालिका र १९ जनामा अपांङ्गताका लक्षण देखिएका थिए । उनीहरु मध्ये १६० जनामा बढी सर्ने र ४५ जनामा कम सर्ने कुष्ठ रोग देखिएको थियो ।

जनस्वास्थ्य अधिकृत ओझाकाअनुसार कुष्ठ रोग लागेमा दुःखाइ नहुने गरेका कारणले धेरैले लामो समयसम्म थाहा नपाइने हुन्छ तर हातखुट्टा झमझम गरे, पिठ्युमा दाग देखिए, छाला लाटो, रातो, फुस्रा दाग देखिए, अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो देखिएमा तत्काल उपचार गराउनुपर्ने ओझाको सुझाव छ । नेपालमा सरकारले सन् २०१० मा कुष्ठरोग निवारणको घोषणा गरेको थियो भने सन् २०३० सम्म कुष्ठ रोगलाई शून्यमा पुर्‍याउने लक्ष्य लिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu