थन्किए ५५ करोडभन्दा बढीमा किनिएका साझाका ३७ बिजुली बस
काठमाडौं- चार्जिङ स्टेसन नभएपछि साझा यातायातले ल्याएका ३७ वटा बिजुली बस थन्किन पुगेका छन् । गत कात्तिकमा नै चीनको नानजिङबाट नेपाल भित्रिएका करिब ५६ करोड मूल्यका बिजुली बसहरु अहिले बनेपा, पोखरा र साझाको पुल्चोकस्थित पार्किङमा थन्किएका छन् ।
अढाइ महिनाअघि नै आयातकर्ता कम्पनीले साझालाई बसहरु बुझेर जिम्मा लिन आग्रह गरेको थियो । तर राख्ने ठाउँको अभाव देखाएर साझाले बस लिन मानेको छैन । सफल परीक्षणसहित ३ वटा बिजुली बस चलाइरहेको साझाले अन्य बिजुुली बसहरु राख्ने ठाउँको समेत टुंगो लगाउन सकेको छैन ।
सरकारकै लगानीमा खरिद गरिएका बसहरु कहाँ राखेर चार्ज गर्ने र पार्क गर्ने भन्ने टुंगो नलाग्दा साझाले बसहरु नै चलाउन सकेको छैन । बसहरुको प्राविधिक परीक्षण भएको लामो समय बितिसक्दा पनि साझाले बस चलाउने वातावरण तयार गर्न सकेको छैन ।
बस किन्नुअघि नै यस्तो पूर्वाधारबारे पर्याप्त गृहकार्य र तयारी नगर्दा बस आएर पनि थन्किने अवस्था आएको हो । साझाले बिजुली बसको चार्जिङ स्टेसनसहित पार्किङ स्थल खोजिरहे पनि अहिलेसम्म नभेटाएको बताएको छ ।