जग्गाको वर्गीकरण छिटो होस् : भूमि व्यवस्था मन्त्रालय
काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ ।स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण जग्गा बेचबिखनलगायतका कारोबार र हक हस्तान्तरण हुन नसकिरहेका बेला मन्त्रालयले यस्तो अनुरोध गरेको हो ।
मन्त्रालयका सचिव डा दामोदर रेग्मीले जग्गाको वर्गीकरण छिटो भएमा विकासको योजनाबद्ध प्रक्रिया र जनताले भोगिरहेका समस्या समाधान गर्न महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।
मन्त्रालयले मालपोत र नापी कार्यालयमार्फत स्थानीय तहलाई जग्गाको वर्गीकरणका लागि प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । उहाँले भन्नुभयो स्थानीय तहले सकेसम्म चाँडो जग्गाको वर्गीकरण गरिदिए भूमिसम्बन्धी आएका धेरै समस्या र गुनासा समाधन हुनेछ, प्राविधिक पक्षमा सहयोग पु¥याउन मातहतका नापी र मालपोत कार्यालयलाई निर्देशन भइसकेको छ ।
भूमिलाई समयमै योजनाबद्ध ढङ्गबाट अघि बनाउन नसकिएका कारण भौतिक पूर्वाधारका संरचना र सडक अव्यवस्थित हुनका साथै खेतीयोग्य जमिन नष्ट भएको मन्त्रालयको भनाइ छ ।
देशका उर्वरभूमिमा अन्न र तरकारीको साटो भकाभक कङ्क्रिटका घर उम्रन थालेपछि सरकारले त्यसलाई न्यूनीकरण गर्न विसं २०७२ मा भू–उपयोग नीति र विसं २०७६ भू–उपयोग ऐन ल्याएको हो ।
कृषियोग्य जग्गाको संरक्षण गर्न खण्डीकरण नियन्त्रण, चक्लाबन्दी कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षाको प्रत्याभूति दिगो पूर्वाधार विकास व्यवस्थित सहरीकण सुरक्षित आवास प्राकृतिक स्रोत सधानको समुचित व्यवस्थापन, विपद् जोखिम न्यूनीकरणलगायतका उद्देश्य राखेर सरकारले भू–उपयोग नीति, २०७२ जारी गरेको हो ।