रामकथा प्रवचन सुरु
भैरहवा- भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा बृहत् राम कथा प्रवचन सुरु भएको छ। भारतका प्रख्यात आध्यात्मिक गुरु मोरारी बापूले कथा वाचन सुरु गर्नुभएको हो। फागुन ३ सम्म चल्ने कथा वाचनमा नेपाल भारतसहित विश्वभरका धार्मिक एवं आध्यात्मिक भक्तजनको सहभागिता छ। यसले लुम्बिनीको पर्यटन प्रवद्र्धन हुने भन्दै स्थानीय र पर्यटन व्यवसायी हर्षित देखिएका छन्।
कथा वाचनका लागि गुरु बापू सोमबार भारतबाट चार्टर विमानमार्फत भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी आइपुग्नुभएको हो। आयोजक राम कथा प्रेमयज्ञ समिति लुम्बिनीका अनुसार लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभा हलमा प्रवचन सुरु भएको छ। बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक भएको प्रवचनले लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
निरन्तर नौ दिनसम्म चल्ने प्रवचनमा नेपालबाहेक भारत र विश्वभरका दुई हजारभन्दा बढी श्रद्धालु लुम्बिनी भित्रिएका छन्। कथा वाचनले लुम्बिनी क्षेत्रको पर्यटन विकासमा महत्त्वपूर्ण टेवा पुग्ने कार्यक्रम संयोजक राजेशकुमार अग्रवालले बताउनुभयो।