सांसदलाई प्रहरीले पक्राउ गर्दैमा निलम्बन गर्नु हुँदैन : ज्ञानिन्द्र शाही
काठमाडौं- प्रहरीले पक्राउ गर्दैमा सांसदहरुलाई निलम्बन गर्न नहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा बोल्नुहुँदै प्रमुख सचेतक शाहीले अदालतले दोषी प्रमाणित नगरेसम्म सांसद पद निलम्बन गर्न नहुने जिकिर गर्नुभयो ।
प्रमुख सचेतक शाहीले राष्ट्रपति निर्वाचनका बेला कुनै सांसद पक्राउ परेभने उसको मतदान गर्ने अधिकार हनन् हुनेगरी नियमावलीमा कुनैपनि व्यवस्था गर्न नहुने धारणा राख्नुभयो ।उहाँले भन्नुभयो एक जना सांसद बुटवल जाँदै गर्दाखेरी ल मानौ समातिन सक्छ । के गरौं ।
निलम्बन भयो भोटिङ गर्न पाइँदैन । भोलि अदालतमा गयो भने मिति निर्दोष हौं भनेर फैसला गरिदिन सक्छ । तर यहाँ अधिकार त खोजियो नि । यो मेरो अहिले धारणा के छ भने प्रहरीले पक्राउ गर्दैमा निलम्बन गर्नहुन्न । अदालतले फैसला गरी दोषी प्रमाणित भएपछि उसको पद पनि जाने भयो । उ निलम्बनमा पर्ने भयो ।
खारेज नै हुने भयो । त्यो न्यायसंगत छ । यहाँ त संवैधानिक अधिकारको कुरा रह्यो नि । ल भोलि राष्ट्रपतिमा भोट हाल्ने कुरामा एक जनालाई पक्राउ गर भन्छ । त्यत्तिकै हिरासतमा हाल्दि हाल्छ । भोट हाल्न पनि पाउँदैन ।
जनताबाट निर्वाचित सांसदलाई कमजोर बनाउने गरी नियमावलीको व्यवस्था गर्ने कुरामा आफू सहमत हुनै नसक्ने उहाँको भनाइ थियो । प्रमुख सचेतक शाहीले अदालतले दोषी प्रमाणित गरेपछि मात्रै सांसद पद निलम्बन हुने व्यवस्था गर्नु संविधान र कानुनको दृष्टिले पनि उपयुक्त हुने बताउनु भयो ।