मोबाइल पसल लुटपाट र तोडफोडको सबै क्षतिपूर्ति सरकारले दिनुपर्ने माग
काठमाडौं- नेपाल मोबाइल व्यवसायी महासङ्घले यातायात मजदुरहरूको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ ।
मङ्गलबार महासङ्घले नयाँ बसपार्कमा ल्होत्से मलमा पत्रकार सम्मेलन गर्दै सोमबार गोङ्गबु नयाँ बसपार्कको ल्होत्से मलमा भएको यातायात मजदुरहरूको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति आन्दोलन गर्ने सङ्गठन र सरकारले दिनुपर्ने माग गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्नुहुँदै महासङ्घका अध्यक्ष भरत भट्टराईले सरकारले ४८ घण्टाभित्र मोबाइल व्यवसायीहरूका माग सम्बोधन नगरे देशव्यापी रूपमा आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाँले १५ घण्टा हुँदासम्म राज्य घटनाप्रति मौन बस्नु व्यवसायीहरूको पक्षमा सरकार नदेखिएको आरोप लगाउनुभयो ।
उहाँले बसपार्कको ल्होत्से मलको मोबाइल पसलमा भएको लुटपाटको क्षतिपूर्ति आन्दोलनकारी र राज्यले लिनुपर्ने बताउनुभयो । सरकारले पसल लुटपाट पर्नेहरूको अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनु माग उहाँको छ ।
अध्यक्ष भट्टराईले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपियाँ बराबरको क्षति भएको बताउनुभयो । सोमबारको घटनाबाट मुलुकको सुरक्षा व्यवस्था कति कमजोर छ भन्ने पुष्टि हुने भन्दै घटनाको सम्पूर्ण क्षतिपूर्ति राज्यले दिनुपर्ने उहाँको भनाइ छ । उहाँले व्यवसायीहरूले निर्धक्क भएर व्यवसाय गर्ने वातावरण पनि नभएको सन्देश प्रवाह भएको बताउनु भयो ।
त्यस्तै महासङ्घका उपाध्यक्ष तथा लुटपाट भएको पसलका सञ्चालक अर्जुन चालिसेले करिब आठ देखि नौ करोड रुपियाँ बराबरको मोबाइल, पैसा र अन्य सामाग्रीहरू लुटिएको बताउनुभयो । उहाँले सरकारले घटनाबाट भएको क्षतिपूर्ति दिने विश्वास रहेको बताउनु भयो ।
सामान्य व्यवसायीहरूले गरिखान समेत ठूलो समस्या आएको भन्दै राज्यले व्यवसायलाई सुरक्षित बनाउन नसकेको दाबी उहाँले गर्नुभयो । उहाँले ल्होत्से मलमा रहेका चालिसेको एसीडीसी मोबाइल पसल र डायमण्ड स्टार इन्भेस्टमेन्ट ग्रुप प्रालिमा दुई वटा मोबाइल पसलमा नै लुटपाट भएको सञ्चालक चालिसेको भनाइ छ । उहाँले केही चोरहरूलाई पक्राउ गरेर प्रहरीलाई बुझाएको पनि जानकारी दिनुभयो ।