Connect with us
Kapilvast Forest

स्ववियु निर्वाचन : यस्ता छन् विद्यार्थीका एजेण्डा

२०७९, १७ फाल्गुन बुधबारमा प्रकाशित

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी सङ्गठन घोषणापत्रको अन्तिम तयारीमा लागेका छन् । चौध वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यस पटक निर्धारित मितिमा नै हुने भएपछि विद्यार्थी सङ्गठनहरू घोषणापत्रसहित निर्वाचनको तयारीमा जुटेका छन् ।

विद्यार्थी सङ्गठनले आगामी स्ववियु निर्वाचनमा बेरोजगार शिक्षाको अन्त्य गरी रोजगारमूलक शिक्षा र त्रिवि सुधारलाई आफ्नो मुख्य मुख्य एजेण्डाका रूपमा अगाडि सारेका छन् । आगामी चैत ५ गते हुने निर्वाचनका लागि विद्यार्थी सङ्गठनले स्ववियुलाई युवा संसद्का रूपमा विकास गर्ने, शैक्षिक गुणस्तर सुधार, त्रिविको शैक्षिक क्यालेण्डर सुधार गर्ने, त्रिविका पदाधिकारी नियुक्ति खुला प्रतिस्पर्धा नियुक्ति, पाठ्यक्रम परिमार्जनलगायतका मुख्य एजेण्डा अघि सारेर निर्वाचनमा होमिँदै छन् ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले राजनीतिक परिवर्तन भइसकेपछि मूलतः त्रिविको शैक्षिक गुणस्तर र त्रिविलाई सुधार्ने एजेण्डासहित स्ववियु निर्वाचनमा होमिने बताउनुभयो । उहाँले स्ववियु मुलुकको नेतृत्व गर्ने थलो रहेकाले युवा संसद्का रूपमा स्ववियुलाई विकास गर्नुपर्ने बताउनुभयो । “विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक हुन थालेको छ”, उहाँले भन्नुभयो, “यसपटक हामीले शैक्षिक एजेण्डासहित नेतृत्व विकास गर्ने थलोका रूपमा रहेको स्ववियुलाई युवा संसद्का रूपमा लैजान पर्दछ भन्ने रहेको छ ।”

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को स्ववियु निर्वाचन घोषणापत्रका संयोजक पूजन गन्र्धवले घोषणापत्र तयारी गरिसकेको बताउनुभयो । उहाँले आफ्नो सङ्गठनको मुख्य एजेण्डा शैक्षिक सुधार नै रहेको बताउनुभयो । नेविसङ्घले शिक्षासँगै उद्यमशीलता र शैक्षिक प्रमाणपत्रसँगै रोजगार अभियान सञ्चालन गर्ने, शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षा क्षेत्रमा भएको निजी लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने एजेण्डा अघि सारेको छ ।

यस्तै, सबै क्याम्पसमा स्ववियुलाई भ्रष्टाचाररहित बनाई सक्षम नेतृत्व उत्पादन गर्ने थलोका रूपमा विकास गर्ने र स्ववियु र क्याम्पसको बजेटको वार्षिक लेखापरीक्षण गरी आर्थिक पारदर्शिता गराउने एजेण्डा पनि बनाएको छ ।

यस्तै, वैज्ञानिक, व्यावहारिक, प्राविधिक र अनुसन्धानात्मक शिक्षामा जोड, माध्यमिक शिक्षा सबै नेपालीका लागि अनिवार्य र निःशुल्क बनाउन र उच्च शिक्षा सबैको पहुँचमा, गुणस्तरीय र सर्वसुलभ बनाउँदै क्रमशः निःशुल्क बनाउने आफूहरूको एजेण्डा रहेको नेविसङ्घका पूर्वकेन्द्रीय सदस्यसमेत रहनुभएका गन्र्धवले जानकारी दिनुभयो ।

अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव दीपेश पुनले स्ववियु निर्वाचनका लागि घोषणापत्र तयार पारिएको जानकारी दिनुभयो । उहाँले आगामी स्ववियु निर्वाचनका लागि त्रिविलाई बेरोजगार जनशक्ति नभई स्वरोजगार जनशक्ति उत्पादन गर्ने मुख्य एजेण्डा रहेको बताउनुभयो ।

उहाँले त्रिविका पदाधिकारी भागबन्डा नभई खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने, शैक्षिक क्यालेण्डर समयमैत्री हुनुपर्ने, उत्पादित जनशक्तिलाई निरन्तर अनुसन्धान, उद्यम, रोजगार बनाउन पहले गर्ने, त्रिविबाट उत्पादित जनशक्ति र बजारबीच सम्बन्ध स्थापित गर्ने एजेण्डा रहेको जानकारी दिनुभयो ।

यस्तै, वार्षिकमा तीन महिना र सेमेष्टर प्रणालीमा एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्ने, भौतिक र डिजिटल पूर्वाधार सम्पन्न आधुनिक पाठ्यक्रम अध्ययन अध्यापन गर्ने विश्वविद्यालय निर्माण गर्ने, स्नातकमा १० प्रतिशत, स्नातकोत्तरमा २० प्रतिशत र एमफिलमा २५ प्रतिशत पाठ्यक्रम विदेशी आगन्तुक प्राध्यापकबाट अध्यापन गर्ने व्यवस्था मिलाउने पनि एजेण्डा क्रान्तिकारी रहेको छ ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले शिक्षाको निजीकरण अन्त्य, विश्वविद्यालय बेरोजगार उत्पादनका कारखाना रहेकोले बौद्धिक पलायन रोक्न लागि आपत्कालीन शैक्षिक सुधार कार्यक्रम, सेमेष्टर र वार्षिक दुई किसिमको शिक्षा अन्त्य गरी एकै खालको शिक्षा, आङ्गिक क्याम्पस सुधार गर्नुपर्ने एजेण्डा रहेको बताउनुभयो ।

नेविसङ्घका त्रिवि क्याम्पस नेता विष्णु बडैलाले त्रिविमा देखिएका विकृति विसङ्गति सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले स्ववियु निर्वाचन नहुँदा त्रिवि नै अस्तव्यस्त रहेकाले आगामी स्ववियु निर्वाचनबाट त्रिविमा सुधार आउने बताउनुभयो । उहाँले त्रिविमा रहेका परीक्षा नियन्त्रण कार्यालयलाई पूर्ण डिजिटल बनाउने, त्रिविलाई केन्द्रीय अनुसन्धानको केन्द्र बनाउने, छात्रालाई सेनिटेरी प्याडको सुलभ व्यवस्था गर्ने आफ्नो एजेण्डा रहेको बताउनुभयो ।

उहाँले त्रिवि सेवा आयोग प्रत्येक छरछ महिनामा विज्ञापन खोलेर योग्य दक्षजनशक्ति ल्याउन जरुरी रहेको बताउनुभयो । त्रिवि केन्द्रीय क्याम्पसका नेता तथा अखिलका केन्द्रीय सदस्य प्रशान्त भण्डारीले रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादन, अनुसन्धानमूलक र सूचना प्रविधि शिक्षा आफ्नो एजेण्डा रहेको बताउनुभयो ।

त्यस्तै, उहाँले अन्तर्राष्ट्रिय शैक्षिक अध्ययन र सीप त्रिविमा र विद्वानको पलायन रोक्दै समुन्नत नेपाल निर्माण रहेको बताउनुभयो । आगामी चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा हुने स्ववियु निर्वाचनका लागि कार्यतालिकासमेत सार्वजनिक भइसकेको छ ।

कार्यतालिकाअनुसार यही फागुन १९ गते विद्यार्थी सङ्घ÷सङ्गठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ । यस्तै कार्यतालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको तोकिएको छ ।

प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखियता नियमित हुनसकेको छैन । विसं २०६५ साल चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu