Connect with us
Kapilvast Forest

असी वर्षको उमेरमा पनि सरकारी जागिर !

२०७९, २३ फाल्गुन मंगलवारमा प्रकाशित

कुनै सरकारी कार्यालयमा काम गर्ने कर्मचारी कति वर्षको होला ? तपाईंलाई लाग्न सक्छ बढीमा ५८, ६० वर्ष तर पाल्पाको एक सरकारी कार्यालय मातहत काम गर्ने दुई जना कर्मचारी ८० वर्षको उमेरमा पनि अवकाश पाउन सकेका छैनन्। पाल्पाको अतिरिक्त हुलाक कार्यालयमा काम गर्ने दुई जना कर्मचारी ८० वर्षको उमेरमा पनि कार्यालयको काममा सक्रिय रहेका छन्।

जिल्लाको रामपुर–२, दर्छाको अतिरिक्त हुलाक कार्यालय हुलाक प्रतिनिधिका रूपमा कार्यरत भीमलाल खनाल ८० वर्षको पुग्नुभयो। उहाँ अहिले पनि हुलाक कार्यालयमा हुलाक प्रतिनिधिका रूपमा काम गर्नुहुन्छ। उहाँले भन्नुभयो, “हुलाक प्रतिनिधिका रूपमा काम गरेर ८० वर्ष पुगेँ। मैले काम गरेको ३७ वर्ष पुगिसकेको छ। सरकारले पनि काम छोड भनेको छैन, मैले सकेको काम अहिले पनि गरेकै छु।”

खनाल मात्रै होइन, निस्दी गाउँपालिका–४ स्थित मित्याल अतिरिक्त हुलाक कार्यालयमा डाँकवाहकका रूपमा ८० वर्षका चुरामसिंह सुनारी कार्यरत हुनुहुन्छ। उमेरले आराम गर्ने बेला भए पनि सुनारी अहिले पनि आफ्नो कार्यालयमा पुगेर काममा खटिने गर्नुहुन्छ। सुनारी आफू ५४ वर्षको उमेर हुँदा डाँक प्रतिनिधिका रूपमा हुलाक कार्यालयमा सेवा प्रवेश गर्नुभएको थियो।

उमेर ८० वर्ष पुगे पनि उहाँहरू दुवै जनाले सक्रियताका साथ काम गर्दै आएको जिल्ला हुलाक कार्यालय पाल्पाले जनाएको छ। उमेरले ८० वर्ष पुगे पनि खनाल र सुनारीले सक्रियतापूर्वक काम गर्दै आएको जिल्ला हुलाक कार्यालय पाल्पाका प्रमुख जयदीप पन्थीले बताउनुभयो।

“उमेरले ८० वर्ष पुग्नुभयो,” पन्थीले भन्नुभयो, “तर, उहाँहरू अहिले पनि कार्यालयले तोकेको काममा सक्रिय हुनुहुन्छ। पहिलेजस्तो कार्यालयमा चिठीपत्र दर्ता, सङ्कलन र वितरणको चाप नभए पनि उहाँहरू दुवै जना नियमित कार्यालयमा आएर तोकिएको काम गर्नुहुन्छ।” नेपाल सरकारको अतिरिक्त हुलाक नियमावली २०३४ अनुसार नियुक्त हुनुभएका उहाँहरूले अहिले मासिक आठ हजार ३१० रुपियाँ तलब पाउनुहुन्छ। सरकारबाट दिने सुविधा पाएपछि उहाँहरू दुवै जनाले ज्येष्ठ नागरिक भत्ता भने लिनुहुन्न। बिहान १० देखि १२ बजेसम्म नियमित हुलाक कार्यालयमा आएर काम गर्नुपर्ने प्रावधान छ। नियमावलीअनुसार १६ वर्ष उमेर पुगेका नागरिकले अतिरिक्त हुलाक कार्यालयमा सेवा गर्न सक्ने प्रावधान छ तर सेवानिवृत्त हुने उमेर अवधि नतोकिएका कारण उहाँहरू हालसम्म पनि कार्यरत रहनुभएको जिल्ला हुलाक कार्यालय पाल्पाका सूचना अधिकारी टङ्क भण्डारीले बताउनुभयो।

नियमावलीमा जागिर छाडे उक्त पद रिक्त हुने वा कार्यालयले कारबाही गरे मात्र जागिर नरहने व्यवस्था रहेको भण्डारीले बताउनुभयो। “हामीले उमेर धेरै भएको भनेर हटाउन मिल्दैन, काम गर्दासम्म केही गर्न सक्दैनौँ,” उहाँले भन्नुभयो, “उहाँहरूले राजीनामा दिनुप-यो कि कारबाही गर्नुप-यो।” हुलाक कार्यालयका अनुसार विभिन्न अतिरिक्त हुलाक कार्यालयमा काम गर्ने ७० वर्ष उमेरमाथिका अन्य १० जना रहेका छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu