लुम्बिनीका लागि कराेडाैमा किनेकाे बिद्धुतिय गाडी अलपत्र
लुम्बिनी – बुद्धकाे जन्मस्थल लुम्बिनीमा रहेकाे लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्किङमा दुई वर्षभन्दा बढी समयदेखि बस र भ्यान राखिएका छन् । ती बस र भ्यान जो कोहिले पनि देख्दा निक्कै आकर्षक छन् । अत्याधुनिक सेवा सुविधासहितका ती विद्युतीय (बिजुली बस) गाडी विगत दुई वर्षभन्दा लामाे समयदेखि यत्तिकै अलपत्रजस्तै बनेका छन्।
भैरहवामा रहेकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँगलगायतका बुद्धसँग सम्बन्धित क्षेत्रलाई जोड्न र ती क्षेत्रमा पर्यटक आवतजावत सहज बनाउन विदेशी दातृ निकायले ती साधन अनुदानमा उपलब्ध गराएका हुन् । विदेशी दातृ निकायले उपलब्ध गराएका सवारी साधन खुला आकाशमुनि थन्किदा पनि सञ्चालका लागि सरोकारवाला निकायको चासो पुगेको छैन ।
लुम्बिनीलाई प्रदूषणमुक्त बनाउन विसं २०७७ मङ्सिर ९ गते यी विद्युतीय बस र ट्याक्सी लुम्बिनी ल्याइएको थियो । तर, आवश्यक कानुनी प्रक्रियामा ढिलाई र सञ्चालनको नमूना तयार नहुँदा दुई वर्षभन्दा बढी समयदेखि खुल्ला आकाशमुनि थन्किएका छन् ।
एसियाली विकास बैंक (एडीवी)को अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोड रुपैयाँमा लुम्बिनी विकास कोषलाई विद्युतीय सवारी प्राप्त भएका हुन् । यी विद्युतीय सवारी नेपाल भित्र्याउँदा रु साढे तीन करोड बढी भन्सार राजस्व सरकारले व्यहोरेको थियो । यी सवारीका लागि भनेर नै लुम्बिनीमा १३ करोड ९० लाख रुपैयाँ लगानीमा चार्जिङ स्टेसनसमेत बनिसकेको छ ।
सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत आएका यी गाडी लामो समय खुल्ला आकाशमुनि थन्किएर रहँदा बिग्रने सम्भावना रहेको छ । थन्क्याइएका कतिपय गाडीका टायर र चार्ज नहुँदा ब्याट्रीसमेत बिग्रने समस्या देखिन थालेका छन् ।
लुम्बिनी र यससँग सम्बन्धित बौद्ध क्षेत्रका पर्यटकीय सुविधाका लागि ल्याइएका पाँचवटा १९ सिट क्षमताका बस र १४ वटा पाँच सिट क्षमताका भ्यान सञ्चालन प्रक्रियामा अन्यौल देखिएको छ । अत्याधुनिक सुविधासहितका यी विद्युतीय गाडी स्वचालित ढोका भएका र शारीरिकरुपमा अशक्तका लागि अपाङ्गतामैत्री रहेका छन् ।
सिद्धार्थ होटल एसोसिएसनका उपाध्यक्ष मेघनाथ आचार्य लुम्बिनी विकास कोषले जनतालाई सेवा दिने भनेर ल्याएका अनुदानका सवारी साधन खुला चौरमा राखेर राज्यको सम्पत्ति नोक्सान पु¥याउने काम भएको बताउनुहुन्छ ।
लुम्बिनी विकास कोषले असोज १३ गतेदेखि दशैँ, तिहार र छठपर्वमा यात्रुलाई सेवा दिने भन्दै परीक्षणका रुपमा पाँचवटा बस सञ्चालन गरेको थियो । चाड पर्व अवधिभर परीक्षणका रुपमा सञ्चालन गरिएका बसमा निःशुल्क सेवा प्रदान गरिएको थियो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका चालक राखेर परीक्षणका रुपमा लुम्बिनीबाट कपिलवस्तुको तिलौराकोट क्षेत्र परिक्रमा, लुम्बिनीदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भैरहवाको सिमानाका बेलहियासम्म, लुम्बिनीदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बुद्ध मावलीस्थल देवदह र लुम्बिनीदेखि भैरहवाको बुद्धचोक हुँदै बुटवलको गोलपार्कसम्म पाँच वटा बस परीक्षणका रुपमा सञ्चालन गरिएको थियो । तर, चाँड पर्व पछि भने बस सञ्चालनमा आउन सकेका छ्रैनन् ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्ढिराज भट्टराई लुम्बिनीमा आएका बस पर्यटक लक्षित भएकाले पनि सरकारी नम्बर प्लेट बाट हरियो नम्बर प्लेट रुपान्तरण गर्नुपर्ने तर विकास कोषले सङ्घीय पर्यटन मन्त्रालयलाई आवश्यक निर्णयका लागि पत्राचार गरे पनि निर्णयमा ढिलाइ भएको बताउनुहुन्छ ।