अर्थतन्त्र सुधारको दीर्घकालीन नीति बनाउँदैछौंः अर्थमन्त्री डा.महत
काठमाडौं-अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लगेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो बताएका हुन्।
नेपालको समग्र अर्थतन्त्रलाई विश्लेषण गर्ने हो भने आत्तिहाल्नुपर्ने अवस्था नरहेको मन्त्री डा। महतले बताए । अल्पकालीनमा पुँजीगत खर्च बढाउने र अनावश्यक खर्च घटाउने, समयमा काम नसक्ने खालका समस्या समाधान गर्नेतर्फ सरकार केन्द्रित रहेको बताए । उनले भने, ‘हामी सबैमा कमीकमजोरी छ । त्यसलाई सुधार गरेर अघि बढ्नु पर्छ । ऋण तिर्दिन भन्नु गलत हो ।
अर्थमन्त्री डा। महतले अर्थतन्त्र सुधारको लागि सरकार गम्भीर भएर लागिपरेको पनि बताएका छन् । उनले भने, ‘हाम्रो अर्थतन्त्रमा अहिले केही दबाब परेको छ । केही अप्ठ्यारोहरु सिर्जना भएका छन् ।
सरकार, अर्थमन्त्रालय र म अर्थमन्त्रीले यो दबाब र अप्ठ्यारालाई गम्भीरताका साथ लिएको छ । समग्रमा निराश हुनुपर्ने कारण छैन ।
बाह्य संचित, विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सले गर्दा हामी आत्तिहाल्नुपर्ने छैन । यो परिवेशमा पनि ७ अंकभन्दा माथि आर्थिक वृद्धि छ । अन्तर्राष्ट्रिय परिस्थितिको आर्थिक विकास र रुपान्तरणको समस्या छ ।
उद्योग व्यवसायमा लगानीको समस्या छ । ती समस्यालाई हल गरेर एउटा सकरात्मक आर्थिक वातावरण सिर्जना गर्न हामी सक्षम छौं भन्ने मलाई विश्वास छ ।
अल्पकालीन र दीर्घकालीन समस्याको कुरा आएको छ । सरकारले पनि त्यही रुपमा सोच बनाइरहेको छ । अल्पीकालन समस्यामा हाम्रो ध्यान आन्तरिक खर्चमा केन्द्रित हुनेछ ।
साधारण खर्चमा हामी अनावश्यक खर्चलाई निर्ममतापूर्वक हटाउने छौं । साधारण खर्चभित्र तलबभत्ता मात्र छैन, सामाजिक दायित्वका कुरा छन् । शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकताका कुरामा लगानीको कुरा छ । यी कुरा हटाउन सक्दैनौं ।
साधारण खर्चलाई हामी हदैसम्म कम गरेर समयमै खर्च गर्ने पद्धति अगाडि बढाएर राज्यको सेवा प्रवाह प्रभावकारी ढंगको बनाइनेछ । सरकारभन्दा पनि निजी क्षेत्रले अर्थतन्त्रलाई चलायमान बनाउन सक्छ ।

