९ करोड हिनामिना गरेर सञ्चालक भागे
विराटनगर सरोचियाका मनिष सहनी चिया नास्ता पसल सञ्चालन गर्छन् । त्यसैबाट कमाएको साढे तीन लाख रुपैयाँ विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरे ।अझै धेरै कमाउने भनेर सेक्युरिटी गार्डको रुपमा काम गर्नका लागि युएई जाने प्रक्रिया थाले । भिसा लागेपछि म्यानपावर कम्पनीले पैसा माग्यो । उनी सहकारीमा जम्मा गरेको पैसा फिर्ता लिन गए, तर सहकारीले दिएन । सहकारी सञ्चालक नै भागेपछि उनी विदेश पनि जान पाएनन् ।
साइकल मर्मत पसल सञ्चालन गर्दै आएका राजकुमार भगतले सहकारीमा दुई लाख ५० हजार रुपैयाँ जम्मा गरेका छन् । छाक खटाएर जम्मा गरेको रकम फिर्ता नदिई सञ्चालक भागेपछि उनी के गर्ने भन्ने तनाबमा छन् ।
उनी जस्तै विराटनगर- ७ का अनिल ठाकुरले पनि पसलको सामान बिक्रीबाट आएको साढे तीन लाख रुपैयाँ सहकारीमा जम्मा गरेका थिए । सबै कारोबार सहकारीबाटै गर्दै आएका उनी सञ्चालक भागेपछि पैसा कसरी फिर्ता ल्याउने भन्ने तनाबमा छन् ।
उनीहरुजस्ता विराटनगरका पाँच सय बचतकर्ताको रकम माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाले फिर्ता गरेको छैन । विराटनगरमा मात्रै होइन्, सहकारीले सुन्दरहरैचा नगरपालिकाको विराटचौकमा पनि सेवा केन्द्र सञ्चालन गरेको थियो ।