नागरिकले दुःखमा सम्झिने पहिलो राज्य संयन्त्र नेपाल प्रहरी हो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आम नागरिकले दुःखमा सम्झिने पहिलो राज्य संयन्त्र नेपाल प्रहरी हुने गरेको छ, यो आफैँमा महत्त्वपूर्ण कुरा भएको बताउनुभएको छ । मङ्गलबार ६८ औँ प्रहरी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।
‘‘आम नागरिकका हरेक सरोकार र राज्यका हरेक समस्यामा नेपाल प्रहरीले प्रथम पंक्तिमा रहेर ती सरोकार र समस्याको सम्बोधन र समाधान गरेको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘आम नागरिकले दुःखमा सम्झिने पहिलो राज्य संयन्त्र नेपाल प्रहरी हुने गरेको छ, यो आफैँमा महत्त्वपूर्ण कुरा हो ।’’
यसैगरी, उहाँले प्रहरी समाजको एउटा यस्तो अङ्ग हो, जो समाज सँगसँगै समयसापेक्ष परिवर्तन हुँदै जान्छ र जानु पर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले नेपाल प्रहरीले पनि आफू र आफ्नो सेवा प्रवाहलाई समय सापेक्ष आधुनिकीकरण गर्दै अहिलेको अवस्थामा एउटा आधुनिक, दक्ष, जिम्मेवार अनि राष्ट्रिय साथै अन्तर्राष्ट्रिय जगतमा समेत प्रभावशाली प्रहरी संगठनको रूपमा स्थापित हुन सफल भएको बताउनुभयो ।
सीमित साधनस्रोत, जनशक्ति र अनेकौं चुनौतीका बीच पनि अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा जुन ख्याती प्राप्त गरेको छ, यो हाम्रा लागि महत्त्वपूर्ण पुँजीसमेत भएको उहाँको भनाइ छ ।