ग्लोबल डेरीको मोही उत्पादनमा गम्भीर लापरवाही: स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन
न्युज सेन्टर नेपाल– ग्लोबल डेरीले आफ्नो मोही उत्पादनको भिडियो सार्वजनिक गरेसँगै उत्पादन प्रक्रियामा गम्भीर लापरवाही देखिएको छ। उक्त भिडियोमा सरसफाइको न्यूनतम मापदण्ड समेत पूरा नगरेको देखिन्छ।
भिडियोमा स्पष्ट रूपमा देख्न सकिन्छ कि मोही उत्पादनको क्रममा जगबाट नाङ्गो हातले सोली राखेर मोही भर्ने काम भइरहेको छ। दुग्धजन्य उत्पादनको सन्दर्भमा पास्चुराइज गर्ने, प्रशोधन गर्ने र सरसफाइमा उच्च ध्यान दिनुपर्नेमा, ग्लोबल डेरीले यस्तो नगरेको देखिन्छ।
विशेषज्ञहरूका अनुसार, दुग्धजन्य पदार्थ उत्पादन गर्दा सर्जिकल पन्जा लगाउनुपर्ने हुन्छ। साथै, हातमा कुनै पनि प्रकारका गहना, चुरा, पोते, माला आदि लगाएर काम गर्न मिल्दैन।
खाद्य तथा गुण नियन्त्रण विभागका स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार, ग्लोबल डेरीले आवश्यक मापदण्डको पालना गरेको देखिदैन। यस किसिमको असुरक्षित तरिकाले दुग्धजन्य उत्पादन गर्दा उक्त पदार्थ अखाद्य हुने, छिटै बिग्रिने र त्यसबाट झाडापखला तथा पेटजन्य रोगहरू फैलने सम्भावना रहन्छ।
डेरी विशेषज्ञहरूका अनुसार, यस प्रकारको लापरवाहीले उपभोक्ताको स्वास्थ्यमा गम्भीर प्रभाव पर्न सक्ने भएकाले यथाशीघ्र सुधारको आवश्यकता रहेको छ। सरकारी निकायले पनि यस विषयमा छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने माग बढिरहेको छ।
ग्लोबल डेरीको यस कदमले उपभोक्तामा आशंका उत्पन्न गराएको छ ।