कपिलवस्तुको भाइरल डाडामा सवारी दुर्घटना, एक जनाको मृत्यु
कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित भाइरलडाँडामा पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुधबार बेलुका भएको दुर्घटनाबाट एक जना घाइते भएका छन ।
अर्घाखाँचीबाट दिल्लीतर्फ जाँदै गरेको लु २ ख २१४२ नम्बरको बस र विपरीत दिशाबाट आएको रा ७ प ३४८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको वडा प्रहरी निरीक्षक सुजन शाहले जानकारी दिनुभयो ।
दुर्घटनामा परी दाङको राप्ती गाउँपालिका–४, मौरिघाटका करिब २७ वर्षीय मोटरसाइकल चालक लिलाराम कुँवरको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक शाहले बताउनु भयो । सोही मोटरसाइकलमा सवार सोही ठाउँका २९ वर्षीय खुसीराम चौधरी घाइते भएका छन ।
चौधरीको टाउकोमा चोट लागेको र उनको अवस्था मध्यम रहेको छ । घाइतेलाई थप उपचारका लागि संजीवनी सामुदायिक अस्पताल, चन्द्रौटामा पठाइएको छ ।
प्रहरीले बस र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन शाहले जानकारी दिनुभयो ।