Connect with us
Kapilvast Forest

डमी समिति बनाएर साई स्वागतबाट बाहिरिए भरत र निकिता

२०८१, १४ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं – काठमाडौंको साई स्वागत सहकारीका अध्यक्ष, उपाध्यक्ष तथा अन्य पदाधिकारीहरु सम्पूर्ण ‘डमी’ सञ्चालक समिति गठन गरेर बाहिरिएको खुलेको छ ।

तत्कालीन अध्यक्ष भरत जंगम, उपाध्यक्ष निकिता पौडेल तथा अन्य पदाधिकारीहरु सहकारीको सदस्य नै नभएका र सम्पर्कमै नरहेका मानिसहरुको सञ्चालक समिति बनाएर बाहिरिएको काठमाडौं महानगरपालिकाले गरेको एक अध्ययनले देखाएको छ ।

प्रतिवेदनका अनुसार २८ साउन २०७८ मा संस्थाका तत्कालीन सचिव तथा व्यवस्थापक शंकर उपाध्याय दाहाल, लेखा समिति संयोजक रामहरि अधिकारी र सदस्य जनक गौतम तथा अध्यक्ष भरतमणि जंगमबीच करारनामा गरी संस्थाको तत्कालीन अध्यक्षलाई जिम्मेवारी मुक्त गर्ने मनसायले १२ कात्तिक २०७९ मा संस्थाको सदस्य नै नभएको व्यक्ति निमकुमारी छन्तेललाई संचालक समितिको अध्यक्ष बनाएको पाइएको छ ।

संस्थाका पूर्वसञ्चालकले जिम्मेवारी पञ्छाउने उद्देश्यले सहकारीको सदस्य नै नभएको व्यक्तिलाई अध्यक्ष बनाएको प्रतिवेदनले जनाएको छ । त्यस्तै, साधारणसभामा अनुपस्थित तथा सदस्य नरहेको व्यक्ति निशा खड्का उपाध्यक्ष बनाइएको पनि प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौं– ३ स्थित साई स्वागत बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महानगरपालिकाको सहकारी विभागले तयार गरेको ८२ वटा सूचक बमोजिम २३ चैत २०८० मा अनुगमन गरेर प्रतिवेदन तयार पारेको थियो ।
यसैगरी संस्थामा सदस्य नै नरहेका अन्य सञ्चालक/पदाधिकारी नियुक्ति गरी तत्कालीन संचालक समिति बचतकर्ताको बचत फिर्ता गर्ने जिम्मेवारीबाट उम्किने गरी कार्य गरेको महानगरको प्रतिवेदनमा उल्लेख छ । नयाँ नियुक्त समितिका अधिकांश मानिस संस्थाको सम्पर्कमा रहेको नदेखिएको समेत प्रतिवेदनमा उल्लेख छ ।

उक्त सहकारीको २८ पुस २०७४ को साधारण सभाको निर्णय नम्बर ६ बमोजिम तत्कालिन अध्यक्ष नोखराज पोखरेल, कोषाध्यक्ष योगिता पुन, सदस्यहरु लिस्सा पौडेल, सरोज लामिछाने, रजनीश आचार्य तथा लेखा समिति सदस्य केदारबहादुर दाहालको राजिनामा स्वीकृत गरी रिक्त पदमा मात्र पदाधिकारी नियुक्त गरेकोमा निर्णयपुस्तिकामा केरमेट गरी विभिन्न पदमा संचालक नियुक्ति तथा हेरफेर गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

तत्कालीन उपाध्यक्ष निकिता पौडेलले ८ असोज २०७८ मा राजीनामा दिएको व्यवस्थापकले लिखित जानकारी गराए पनि संचालक समिति तथा साधारणसभाले त्यसमा कुनै निर्णय नगरेको प्रतिवेदनमा उल्लेख छ । पौडेल पूर्वगृहमन्त्री रवि लामिछानेकी श्रीमती हुन् । लामिछाने हाल सहकारी ठगीको अभियोगमा हिरासतमा छन् ।

सहकारी संस्थाले सहकारी विभागको पूर्वस्वीकृतिबिना कार्यक्षेत्रबाहिर काठमाडौं १० नम्बर वडाबाट कार्य गर्दै आइरहेको समेत प्रतिवेदनले उल्लेख गरेका छन् ।

काठमाडौं– ३ स्थित साई स्वागत बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महानगरपालिकाको सहकारी विभागले तयार गरेको ८२ वटा सूचक बमोजिम २३ चैत २०८० मा अनुगमन गरेर प्रतिवेदन तयार पारेको थियो ।

हिसाब-किताब अध्यावधिक छैन

सहकारी संस्थाको अनुगमनका क्रममा ६ भदौ ०७५, असोज २, २०७६ र मंसिर १० गते र २ मंसिर २०७९ को संचालक समितिको निर्णय पुस्तिका मात्र उपलब्ध गराएको र बाँकी कागज उपलब्ध नगराएको प्रतिवेदनमा उल्लेख छ ।

साथै, अन्य कागजात तथा निर्णय, हिसाबकिताबसमेत सिस्टमबाट रुजु गर्दा अध्यावधिक गरी नराखेको पाइएको पनि प्रतिवेदनले उल्लेख गरेको छ ।

सन्ड्री डेब्टर्स तथा क्रेडिटर्सबाट हिसाब समायोजन गरेको देखिएको पाइएको महानगरको प्रतिवेदनमा उल्लेख छ । सहकारी कर्जा नोक्सानी खर्चको गलत लेखांकन गरेको समेत पाइएको छ ।

‘आव २०८०/०८१ मा अनुगमन गर्दाको दिनसम्ममा सिस्टमबाट अटो कर्जा नोक्सानी व्यवस्था हुने गरी लेखांकन नगरेको र कर्जा नोक्सानी व्यवस्था लेखांकन नगरेको’, प्रतिवेदनमा उल्लेख छ ।

पदाधिकारीकै मुद्दा विचाराधीन

महानगरले चार्टड एकाउन्टेन्टहरु करारमा लिएर गरेको अनुगमनका साई स्वागत बचत तथा ऋण सहकारी संस्था लिमिटेडले राधास्वामी बचत तथा ऋण सहकारी संस्थाबाट ९५ लाख रुपैयाँ अन्तर सहकारी कर्जा तत्कालीन सचिव तथा व्यवस्थापक शंकर उपाध्याय दाहालले समितिको किर्ते निर्णय खडा गरी कारोबार गरेकोले किर्ते जालसाझीको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको पाइएको छ ।

यस्तै संस्थाका तत्कालीन संचालक रामहरी अधिकारी र शंकर उपाध्याय दाहालको बिरुद्दमा सहकारी ठगी र सदस्य रन्जन दाहालको बिरुद्द बैंकिंग कसुरमा जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको पाइएको छ ।

वित्तीय अनुशासन भताभुंग : बिना निर्णय सञ्चालकलाई नै कर्जा

महानगरको प्रतिवेदनअनुसार समितिको निर्णयबिना ४ फागुन २०७९ मा सहकारीकी सदस्य योगिता पुन २४ लाख रुपैयाँ कर्जा लगानी भनी सिस्टममा प्रविष्टि गरेको देखिएको छ ।

‘उक्त रकम सम्बन्धित ऋणी सदस्यको बचत खातामा रकमान्तर गरेको देखिन्छ तर ऋणी सदस्यको कर्जा तमसुक, ऋण आवेदन लगायत कुनै पनि कागजातमा दस्तखत भएको देखिदैन,’ प्रतिवेदनमा भनिएको छ ।

उक्त २४ लाख मध्ये १३ लाख २६ हजार रुपैयाँ कर्जा नम्बर ०८–०१०५ को कर्जा खाता बन्द गर्न प्रयोग भएको देखिएको तर बाँकीमध्ये १० लाख २० हजार रुपैयाँ अन्य ऋण खाता बन्द गर्न प्रयोग भएको भनी पोस्टिङ भए पनि संस्थाको सिस्टमबाट सो रकमको प्रयोग अनुगमनको क्रममा रुजु गर्न नसकिएकाले रकम दुरुपयोग गरेको हुनसक्ने प्रतिवेदनले औंल्याएको छ ।

अधिकतम् ब्याज

सहकारी संस्थाको सिस्टम रुजु गर्दा सन्दर्भ व्याजदरभन्दा बढी अधिकतम् २२ प्रतिशत सम्म ब्याज लिएको देखिएको प्रतिवेदनमा उल्लेख छ । सहकारीमा सन्दर्भ ब्याजदर अधिकमत १५ प्रतिशत मात्रै हुनुपर्ने नियम रहेको छ ।

यस्तै सहकारीले नियमविपरीत विवरण रुजु गर्दा ३ प्रतिशतसम्म पनि सेवा शुल्क लिएको देखिएको छ । सिस्टमबाट विवरण रुजु गर्दा ३ प्रतिशत सेवा शुल्क काट्न पाइँदैन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu