Connect with us
Kapilvast Forest

कपिलवस्तुमा कृषकहरूको खुसी: वर्षौदेखिको अवैध असुली अन्त्य

२०८१, २० कार्तिक मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल-

कपिलवस्तुमा गल्ला व्यापारिहरूले अन्नवाली खरिद गर्दा पल्लेदारी र खर्चको नाममा अवैध असुली गर्न नपाउने भएका छन्। चन्द्रौटा उद्योग वाणिज्य संघको पहलमा मंगलबार भएको व्यापारी र कृषकबीचको छलफलपछि यो ऐतिहासिक निर्णय लिइएको हो। यो निर्णयले कृषकहरूलाई राहत मात्र होइन, कृषि क्षेत्रलाई पनि पारदर्शी बनाउने विश्वास गरिएको छ।

अहिलेसम्म व्यापारिहरूले प्रतिक्विन्टल २० रुपैयाँ पल्लेदारी र डेढ किलो खर्चको नाममा कृषकहरूसँग अवैध रूपमा रकम असुल्दै आएका थिए । यसले किसानहरूको उत्पादन लागतमा अनावश्यक भार थपिदिँदै आएको थियो ।

कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चौधरीले अब यो अवैध प्रथा अन्त्य हुनेमा आशा व्यक्त गरेका छन्। उनले कृषकहरूले लामो समयदेखि भोग्दै आएको अन्यायलाई यो निर्णयले अन्त्य गर्ने बताए। साथै, निर्णयको कार्यान्वयन सुनिश्चित गर्न निकट भविष्यमै बजार अनुगमन गरिने पनि उनले जानकारी दिए।

चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले व्यापारी र कृषकबीच लामो समयदेखि चल्दै आएको विवाद समाधान भएकोमा खुसी व्यक्त गरे। उनले भने, “व्यापारीहरू पल्लेदारी र खर्चका विषयमा छलफलपछि सहमतिमा पुगेका छन्, जसले गर्दा अब कृषकहरूलाई अनावश्यक आर्थिक भार वहन गर्नुपर्ने छैन।”

बैठकमा चन्द्रौटा उद्योग वाणिज्य संघका पदाधिकारीहरू, किसान अगुवा तौलेश्वर चौधरी,  युवा नेता रहिस शाह, स्थानीय व्यापारी, र अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। बैठकमा सहभागीहरूले कृषकहरूको समस्याको स्थायी समाधान खोज्न सक्रिय भूमिका खेलेका थिए।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu