कपिलवस्तुको उपनिर्वाचनमा पहिलो पटक कानुनका विद्यार्थीहरूको सहभागिता
सनिउल्ला धोबी- कपिलवस्तु, शुद्धोधन गाउँपालिका–१ मा आगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा कानुनका विद्यार्थीहरू पहिलो पटक सहयोगी भूमिकामा खटिएका छन ।
लुम्बिनी बौद्ध विश्वविद्यालयबाट बीए एलएलबी (BA LLB) अध्ययनरत प्रवीन तिवारी र कुलदीप तिवारीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा काम गरिरहेका छन् । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश प्रकाश चन्द्र अधिकारीका अनुसार कानुनका विद्यार्थीहरू उपनिर्वाचनमा प्रत्यक्ष रूपमा खटिनु नयाँ अभ्यास हो ।
विद्यार्थीहरूको सहभागिता जिल्ला अदालत कपिलवस्तुको सिफारिसमा भएको हो । निर्वाचन प्रक्रियामा कानुनी सहयोग पुर्याउन उनीहरूको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
कानुनका विद्यार्थीहरूको अनुभव
उपनिर्वाचनमा सहभागी प्रवीन तिवारी र कुलदीप तिवारीले निर्वाचन प्रक्रियामा प्रत्यक्ष संलग्न हुन पाउँदा उत्साह व्यक्त गरेका छन ।
प्रवीण तिवारीले भने, “निर्वाचन प्रक्रियामा प्रत्यक्ष संलग्न हुन पाउनु मेरो लागि ठूलो अवसर हो । यो अनुभवले मैले कक्षाकोठामा पढेका कानुनी सिद्धान्तहरूलाई व्यवहारमा बुझ्न सहयोग पुर्याएको छ ।”
त्यस्तै, कुलदीप तिवारीले भने, “कानुन विद्यार्थीका रूपमा न्यायालयको सिफारिसमा उपनिर्वाचनमा खटिन पाउँदा गौरवान्वित महसुस गरेको छु । यो अनुभवले मेरो भविष्यका लागि महत्त्वपूर्ण मार्गनिर्देशन गर्नेछ ।”
मुख्य निर्वाचन अधिकृत अधिकारीले कानुनका विद्यार्थीहरूको सहभागिता निर्वाचन प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुर्याउने बताए ।
विद्यार्थीहरूले यस्तो अवसरले कानुनी ज्ञानलाई व्यवहारिक रूपमा उपयोग गर्न सहयोग पुग्ने धारणा व्यक्त गरेका छन् ।