सौर्य विद्युत आयोजनाबाट उज्यालो नेपाल सम्भव छ : राज्यमन्त्री विक
सनिउल्ला धोबी, कपिलवस्तु–
नेपाल सरकारको वन तथा वातावरण राज्यमन्त्री रुपा विकले सौर्य आयोजनाले उज्यालो नेपाल सम्भव हुने बताउनु भएको छ । राज्यमन्त्री विकले सौर्य विधुत योजनाले कपिलवस्तुको दिगो विकास र उज्यालो नेपाल निर्माणमा उल्लेखनीय टेवा पुर्याउने धारणा व्यक्त गर्नु भएको छ ।
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–८ मा निर्माण हुन लागेको ३० मेगावाट क्षमताको सौर्य विद्युत आयोजना सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विकले भन्नुभयो, “यस क्षेत्रमा यति ठूलो विद्युत आयोजना आउनु आफैँमा गौरवको विषय हो ।
मन्त्री विकले सौर्य विद्युत योजनाले स्थानीय विकास, रोजगारी, पूर्वाधार तथा ऊर्जा सुरक्षाका हिसाबले यो परियोजना ऐतिहासिक सहयोग हुने बताउनु भयो । विद्युत योजनाले यस क्षेत्रका दलित, मधेसी, मुस्लिम समुदायलाई समेत समेट्ने मन्त्री विकले धारण राख्नुभयो ।
प्राइम पावर कम्पनी लिमिटेड काठमाडौंको लगानीमा योजना निर्माण हुने कम्पनीका अध्यक्ष आशीष गर्गले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजना १८ महिनाभित्र सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।
कार्यक्रममा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन प्रस्तुत गर्दै वातावरण अध्ययन टोलीका प्रमुख सुरेन्द्र भट्टले परियोजनाको स्थान चयनदेखि निर्माण र सञ्चालनसम्मका चरणमा पार्न सक्ने सम्भावित वातावरणीय असरहरूको विश्लेषण प्रस्तुत गर्नुभयो ।
उहाँले परियोजना निर्माणका क्रममा ध्वनि, धुलो, जैविक विविधता तथा जलस्रोतमा हुन सक्ने असरहरू न्यूनिकरणका लागि आवश्यक रणनीति अपनाइने उल्लेख गर्नुभयो । उहाँले थप्नुभयो, “यस परियोजनाले विद्युत आपूर्तिमा सहजता ल्याउने मात्र होइन, रोजगारी र स्थानिक अर्थतन्त्रमा पनि योगदान पुर्याउनेछ ।”
नेपाल विद्युत विकास विभागका उपसचिव सूर्यदेव गुप्ताले बोल्दै यस्तो आयोजनाले कपिलवस्तुमा निजी क्षेत्रको ठूलो लगानी भित्र्याएको र यसले सार्वजनिक-निजी सहकार्यको सफल उदाहरण बन्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले आयोजना सञ्चालनका लागि नीति तथा कानुनी व्यवस्था प्रभावकारी ढंगले कार्यान्वयन गर्न मन्त्रालय प्रतिवद्ध रहेको बताउनुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा शिवराज नगरपालिकाका जनप्रतिनिधि, वडाध्यक्षहरू, शिक्षक, पत्रकार, स्थानीय संघसंस्था, नागरिक समाज तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले परियोजनाबाट स्थानियलाई प्रत्यक्ष लाभ पुग्नुपर्ने, रोजगारीको अवसर सिर्जना गर्नुपर्ने तथा वातावरणीय मापदण्ड कडाइका साथ पालना हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा प्रश्नोत्तर सत्रसमेत राखिएको थियो जहाँ स्थानीयले परियोजनाबारे जिज्ञासा राखे र आयोजक तथा विज्ञहरूले स्पष्ट जवाफ दिए । परियोजना निर्माण अघि स्थानीय जनताको राय, सल्लाह र सरोकारलाई प्राथमिकतामा राखिने कम्पनीले प्रतिबद्धता जनाएको छ ।
प्राइम पावर कम्पनी लिमिटेडले आयोजना गरेकाे यस कार्यक्रमबाट कपिलवस्तुमा नवीकरणीय ऊर्जाको सम्भावना तथा रणनीतिक पूर्वाधार विकासमा नयाँ आशा पलाएको छ ।
आयोजनाले वातावरण, समाज र स्थानीय जीवनस्तरमा पार्ने प्रभाव तथा सम्भाव्य योगदानहरूबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ ।